सरकारले विद्यार्थी संगठन र ट्रेड युनियन अधिकारमाथि प्रतिबन्ध लगाउन खोज्यो भने सशक्त प्रतिवाद गर्छौंः महामन्त्री घिमिरे


काठमाडौं, २९ चैत । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आफूहरुले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका काम कारबाहीलाई शुक्ष्म रुपले हेरिरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार खेम बमसँग कुराकानी गर्दै महामन्त्री घिमिरेले आफूहरुले सरकारको काम कारबाहीलाई नियाली रहेको र सरकारले राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने बताएका हुन् । दुई तिहाइ बहुमतको निकट रहेको वर्तमान सरकारसँग जनताको ठूलो अपेक्षा रहेको पनि उनले बताए । जनताको आशाअनुसार सरकारले काम गरेको खण्डमा आफूहरुसहित सबैले काँध हाल्ने उनले बताए । राष्ट्र, संविधान र व्यवस्थाको विरुद्धमा जान खोजेको खण्डमा भने सरकारको सशक्त प्रतिवाद र खबरदारी गरिने पनि उनले बताए ।

‘हाम्रो भूमिका रचनात्मक र सकारात्मक हुन्छ । सरकारले गर्ने कामका आधारमा हाम्रो भूमिका तय हुन्छ । देश र जनताको हितमा केन्द्रीत भएर सरकार अगाडि बढ्यो भने त्यसमा कांग्रेसले सहयोग गर्छ । यो विषयमा उदारतापूर्वक हामी अगाडि बढ्छौं । जनताको दैनिकी, शासन प्रणाली र समग्रमा देशको अहित हुन लाग्यो भने हामी सम्पूर्ण तागतसहित प्रतिवाद गर्छौं,’ उनले भने ।

साथै, सरकारले विद्यार्थी संगठन खारेजी र ट्रेड युनियन अधिकारमाथि प्रतिबन्ध लगाउन नसक्ने उनले बताए । देशको राजनीतिक परिवर्तमान विद्यार्थी संगठन र ट्रेड युनियनहरुको पनि महत्वपूर्ण भूमिका रहेको कुरालाई बिर्सिन नहुने कांग्रेस महामन्त्री घिमिरेले बताए । ‘ट्रेड युनियन राइटलाई कसैले रोक्न सक्दैन । प्रजातान्त्रिक शासन प्रणालीमा अंकुश लगाउन सक्दैन । ट्रेड युनियन आन्दोलन नेपालको स्वतन्त्र आन्दोलन छ । ट्रेड युनियन संगठनहरु पार्टीका भातृ संस्था होइनन् । उनीहरु नेपालको प्रचलित कानून अनुसार आफूलाई अगाडि बढाएका छन् । राजनीतिक परिवर्तनमा उनीहरुको भूमिका छ । आफ्नो वर्गीय हक, हितका लागि उनीहरु लडिरहेका छन् । ट्रेड युनियन खारेज गर्दिने भन्ने कुरा युक्तिसंगत छैनैं,’ उनले भने ।

आजको व्यवस्था आउनुमा विद्यार्थी आन्दोलनको असाध्यै ठूलो भूमिका रहेको छ । यसलाई अवमूल्यान गर्ने कसैलाई पनि अधिकार छैन ।