काठमाडौँ । वन तथा वातावरण मन्त्री गीता चौधरीले वनस्पति क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारको रूपमा विकास गर्नुपर्ने बताएकी छन् । आइतबार वनस्पति विभागको ६६औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
उनले वनस्पति क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारको रूपमा विकास गर्न सके ग्रामीण क्षेत्रको गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन गर्न महत्त्वपूर्ण योगदान पुर्याउन बताइन् । विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी कम्तीमा प्रि–क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्न उनले निर्देशन दिए ।
अनुसन्धानमूलक उपलब्धिलाई प्रयोगमा ल्याउन ढिलाइ नगर्न आग्रह गर्दै मन्त्री चौधरीले वैज्ञानिकहरूलाई प्रोत्साहन गर्ने व्यवस्था आवश्यक रहेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘विभागले तयार गरेका विभिन्न फर्मुलाहरूलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी व्यावसायिक उत्पादनमा लैजान सकिन्छ । यसले देशको राजश्व वृद्धिमा मात्रै होइन, स्वदेशमा नै उद्योग स्थापना र रोजगारी सिर्जना पनि योगदान पुर्याउँछ । यस्ता अनुसन्धानमूलक उपलब्धिलाई प्रयोगमा ल्याउन ढिला गर्नुहुँदैन, साथै त्यस्ता कार्यमा योगदान दिने वैज्ञानिकहरूलाई प्रोत्साहनको व्यवस्था गर्नुपर्छ । नेपालमा पाइने जडीबुटीहरूबाट औषधीय उत्पादनहरूको ठुलो सम्भावना छ तर हामीले अझै प्रारम्भिक चरणमा सीमित राखेका छौँ । विभागले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थानहरूसँग सहकार्य गरी कम्तीमा प्रि क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्नुपर्छ ।’




प्रतिक्रिया