‘गरिबको भोटमाथि धनीको शासन’


काठमाडौं, ३० चैत । पूर्वमन्त्री सुदन किरातीले प्रधानमन्त्री बालेन्द्र शाह र उनी नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुको अस्वाभाविक सम्पत्तिमाथि प्रश्न उठाएका छन् । पूर्व मन्त्री किरातीले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्तिबारे टिप्पणी गर्दै भनेका छन्, ‘गरिबको भोटमाथि धनीको शासन ।’

पूर्वमन्त्री किरातीले स्वदेशमा सम्पत्ति कमाउने अवसर छैन भन्दै लाखौं युवाहरु सम्पत्ति कमाउन विदेश गइरहेको परिप्रेक्षमा केही युवाले त नेपालमै अत्याधिक सम्पति कमाएका रहेछन् भन्ने बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति विवरणले प्रष्ट पारेको बताएका छन् ।

अत्याधिक सम्पत्ति कमाउन कि आफ्ना पुर्खाले गडबडी गरेको हुनुपर्ने र कि आफैंले गडबडी गरेको हुनुपर्ने भन्दै किरातीले सरकारलाई ‘कुरो के हो ?’ भनी प्रश्न तेर्स्याएका छन् ।

साथै, किरातीले सम्पति विवरण बुझाउँदा नियमानुसार स्रोत खुलेको हुनुपर्ने बताएका छन् । रास्वपाका मन्त्रीहरुले कमाएको सम्पत्तिमा नियमानुसार लाग्ने कर सरकारलाई तिरेको छ कि छैन ? भन्दै उनले आशंका समेत व्यक्त गरेका छन् ।

‘मेरो जानकारीमा सम्पत्ति विवरण बुझाउँदा नियमअनुसार स्रोत खुलेकै हुनुपर्छ। तर, राज्यलाई कर चाहीँ तिरिएको छ कि छैन ?’ पूर्वमन्त्री किरातीले प्रश्न गरेका छन् ।

पूर्व मन्त्री किरातीले हदबन्दी भन्दा बढी जग्गा जमिन हुनेहरूलाई कानुनअनुसार कारबाहीको मागसमेत गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ बुझाएको सम्पत्ति विवरणमा उनीहरुसँग भूमि सम्बन्धी ऐन २०२१ ले व्यवस्था गरेको हदबन्दी भन्दा बढी जग्गा रहेको पाइएको छ ।