‘जनतासँग लसुन छैन, नेताहरुसँग सुनैसुन’


काठमाडौं, ३० चैत । प्रधानमन्त्री बालेन्द्र शाह र उनी नेतृत्वको मन्त्रिपरिषद्का मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आइतबार सार्वजनिक भएको प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरणले धेरैको मनमा प्रश्न सिर्जना गरेको छ ।

सार्वजनिक भएको विवरण अनुसार प्रधानमन्त्री शाहसँग सुन र हिरामात्रै १९० तोला रहेको छ । त्यसैगरी मन्त्री गौरी कुमारी यादवसँग सुन १८० तोला, मन्त्रीहरु सुधन गुरुङसँग ८९ तोला, डा.स्वर्णिम वाग्लेसँग ४५ तोला, शिशिर खनालसँग २२ तोला, विराजभक्त श्रेष्ठसँग १५ तोला, सुनिल लम्सालसँग ३० तोला, सोविता गौतमसँग १८ तोला, सबैभन्दा गरिब मन्त्रीको उपमा पाएकी सीता वादीसँग १८ तोला, प्रतिभा रावलसँग २५ तोला, निशा मेहतसँग ३० तोला, सस्मित पोखरेलसँग २५ तोला, खडकराज पौडेलसँग ११ तोला, डा.विक्रम तिमल्सिनासँग १९.५ तोला, गीता चौधरीसँग ५ तोला र रामजी यादवसँग ८० तोला सुन रहेको विवरण सार्वजनिक भएको छ ।

प्रधानमन्त्री र मन्त्रीहरुले आफूसँग भएको सुनको विवरण सार्वजनिक गरेसँगै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले भने व्यंग्यात्मक टिप्पणी गरेका छन् । गरिब जनतासँग तरकारीमा हाल्ने लसुन नरहेको अवस्थामा नेताहरुसँग भने सुनैसुन रहेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।

नेता साम्पाङले भनेका छन्, ‘गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन । नेताहरुसँग सुन नै सुन । के गर्नु हौ त्यो सुन ? न खान मिल्ने ।’