काठमाडौं । नेपाली कांग्रेसले आज(मंगलबार)देखि ‘एक महिने जरामा जाऊँ अभियान’ शुरु गर्दै छ । अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू यसअघि नै खटाइसकेको छ ।
महामन्त्री प्रदीप पौडेलका अनुसार केन्द्रीय प्रतिनिधिहरूले पार्टीले पारित गरेको निर्देशिकाबमोजिम तोकिएको कार्यक्षेत्रमा बसेर सदस्यता विस्तार अभियानको नेतृत्व गर्ने छन् ।
‘एक महिने जरामा जाऊँ अभियान’ मार्फत् कांग्रेसले डिजिटल ‘कांग्रेस आईडी’ अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने र नागरिक संवाद गर्ने लक्ष्य राखेको छ ।
कांग्रेसले पुराना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिकका लागि फारम भर्नुपर्ने, फोटो खिच्नु पर्ने प्रावधान लागू गर्ने तयारी गरेको छ । सबै क्रियाशील सदस्यहरूको वयक्तिक विवरण संकलनका लागि कांग्रेसले सदस्यता अद्यावधिकका क्रममा फारम भर्ने, फोटो खिच्ने अनिवार्य प्रावधान गर्न लागेको हो ।
कांग्रेसले नयाँ सदस्यता वितरणमा विधानको व्यवस्था प्रभावकारी ढंगले लागू गर्ने, नयाँ सदस्यता ‘डिजिटल्ली’ खोल्ने, नयाँ व्यक्ति सदस्य बन्नका लागि सजिलो प्रावधानहरू राख्ने आन्तरिक तयारी गरेको छ ।
महामन्त्री पौडेलका अनुसार जिल्लामा खटिएका प्रतिनिधिहरूलाई नागरिकसँग निर्वाचनको समीक्षा गर्न पनि निर्देशन दिएको छ । उनीहरूले जिल्लामा पार्टीको आन्तरिक संगठनात्मक प्रणाली भित्र रहेका व्यक्तिहरूसँगको भन्दा फरक ढंगले नागरिकसँग समीक्षा गर्नुपर्ने छ ।




प्रतिक्रिया