तस्करी नियन्त्रण गर्न मधेस र लुम्बिनी प्रदेशका सांसदद्धारा गृहमन्त्रीको ध्यानाकर्षण


काठमाडौं, वैशाख ५ । मधेस र लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले सीमा क्षेत्रमा हुने तस्करीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्नुपर्ने माग गरेका छन् । शुक्रबार गृहमन्त्री सुधन गुरुङ र उक्त प्रदेशबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदबीच गृह मन्त्रालयमा सीमापार अपराध नियन्त्रण तथा तस्करी नियन्त्रणसम्बन्धी विषयमा छलफल भएको हो ।

यसक्रममा विद्यमान भन्सार प्रणालीमा सुधार गर्ने, भन्सार दर पुनरावलोकन गर्ने, सीमामा प्रभावकारी निगरानी तथा अनुगमन संयन्त्र विकास गर्ने, कृषि सामग्री तथा मलखादको भन्सार प्रक्रिया सरलीकृत गर्ने, सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोग्य सामग्रीको आयातमा निश्चित हदसम्म भन्सार छुट दिन मापदण्ड निर्धारण गर्ने लगायतका विषयमा सांसदले सुझाव दिएका छन् ।

छलफलका क्रममा उठेका गृह मन्त्रालयसँग सम्बन्धित सवाल गृह मन्त्रालयले कार्यान्वयन गर्ने र अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा अर्थ मन्त्रालयसँग थप छलफल तथा समन्वयमार्फत् समाधान गर्ने बैठकले निश्कर्ष निकालेको छ ।