मधेशमा तिब्र हावाहुरी, तीन जनाको मृत्यु


काठमाडौं, वैशाख ६ । मधेश प्रदेशमा हिजोको हावाहुरीले तीन जनाको ज्यान गएको छ । महोत्तरीको जलेश्वरमा हावाहुरीले रुख टेम्पोमाथि खस्दा दुई जनाको र सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको ज्यान गएको हो ।

हावाहुरीका कारण हिजो बेलुका रुख ढलेको र ढलेको रुखले जलेश्वर नगरपालिका–९ परकौली सडकमा गुडिरहेको ज १ घ ४८५० नम्बरको टेम्पोलाई थिचेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । टेम्पोमा रहेका जनकपुर उपमहानगरपालिका–२० की ४१ वर्षीय सकुन्तला देवी र महोत्तरी एकडारा गाउँपालिका–३ का ३३ वर्षीय राहुल मलिकको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । उनीहरूको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै हावाहुरीका कारण घरको पर्खाल भत्किँदा सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–२ की ६० वर्षीया किसुनवती यादवको ज्यान गएको छ ।