सरकारमा रहेकाहरुको विकल्प कोही छ भने नेपाली राजनीतिमा गगन थापामात्रै होः सहमहामन्त्री रसाइली


काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीको आधिकारिकता विवाद संवैधानिक र न्यायिक निकायबाट निर्णय भएपछि त्यसलाई सबैले स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार खेम बमसँग संवाद गर्दै उनले अब अदालतको निर्णय स्वीकार गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताए । अब कसैले कसैप्रति आग्रह, पूर्वग्रह नराखी अगाडि बढ्नुपर्ने र संविधान र लोकतन्त्रमाथि आएको चुनौती सामना गर्नुपर्ने उनले बताए ।

साथै, आगामी २०८७ सालमा हुने आम निर्वाचनमा कांग्रेसलाई बहुमतको पार्टी बनाउन सकिन्छ भन्ने आफूहरुको आत्मविश्वास रहेको उनले सुनाए । आम पार्टीका कार्यकर्ताको भावनालाई बुझेर सबै एक ठाउँमा उभिनुको विकल्प नरहेको उनले बताए ।

सहमहामन्त्री रसाइलीले नेपालको राष्ट्रिय राजनीतिको मियो कांग्रेस सभापति गगन कुमार थापाको वरिपरी घुमिरहेको उनले बताए । सरकारका रहेका नेताहरुको विकल्प नेपाली राजनीतिमा केही छ भने गगनलाई मात्रै लिन सकिने उनले बताए ।

‘आजको पनि नेपालको राष्ट्रिय राजनीतिको मियो गगन थापाकै वरिपरी घुमेको छ । कांग्रेस पार्टीको राजनीति पनि गगन थापाकै वरिपरी घुमेको छ । उहाँसँग क्षमता, योग्यता र दक्षता छ । आज सरकारमा रहेका नेताहरुको विकल्प नेपाली राजनीतिमा कोही हो भने त्यो गगन थापा हो,’ उनले भने ।