रास्कोट प्रशासन कार्यालयबाट सेवा सुरु हुँदै


कालिकोट । रास्कोट नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालयबाट सेवा सुरु हुने भएको छ । गत माघ ११ गतेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार स्थापना भएको कार्यालयबाट पहिलोपटक सोमबारदेखि सेवा सुरु हुन लागेको हो ।

उक्त कार्यालयबाट अब नागरिकता र राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन तथा कार्ड वितरणलगायत काम हुने सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले जानकारी दिए ।

प्रशासन कार्यालयबाट पाउने सेवाहरूलाई छिटो, सहज र पहुँचयोग्य बनाउने उद्देश्यले अब रास्कोटबाट प्रदान गरिने उनले बताए । इलाका प्रशासन कार्यालयबाट रास्कोट नगरपालिका र पलाँता, पचालझरना तथा सान्नीत्रिवेणी गाउँपालिकाका नागरिक लाभान्वित हुनेछ ।