काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) फुटको सँघारमा पुगेको छ । सोमबार पार्टी कार्यालय धुम्वाराहीमा पार्टीका सांसदहरुलाई आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी समाप्त पार्न खोज्नेहरूसँग अब कुनै सम्झौता नहुने घोषणा गरेका छन् ।
महामन्त्री धवलशमशेर राणाले ‘डेडलाइन’ नै तोकेर जेठमा महाधिवेशन नभए राप्रपा समाप्त हुने चेतावनी दिइरहेको बेला अध्यक्ष लिङ्देनको घोषणाले राप्रपा फुट्ने पक्का भएको हो ।
पार्टीका महामन्त्री राणालगायतलाई लक्षित गर्दै अध्यक्ष लिङ्देनले आफ्नो जिल्लामा वडा समिति बनाउन नसक्ने, चुनावमा पार्टीका उम्मेदवारलाई नसघाउने र राष्ट्रिय पार्टी बन्नबाट रोक्न खोज्ने पार्टीभित्रका नेताहरूको कुनै कुरा नसुनिने बताएका थिए ।
चैत २८ गते राणा पक्षले नेतृत्वलाई ध्यानाकर्षण गराउँदै ३ बुँदे माग अघि सारेको थियो । फागुन २१ को संघीय निर्वाचनमा पार्टीले सोचेजस्तो नतिजा ल्याउन नसकेको र पार्टी नेतृत्वको कार्यशैली एकलौटी भएको भन्दै असन्तुष्ट पक्षले अध्यक्ष लिङ्देनविरुद्ध निरनतर मोर्चाबन्दी गदै आइरहेका छन् ।
प्रतिनिधिसभाको सभामुख पदमा पार्टीभित्र छलफल नै नगरी उम्मेदवारी दिएको भन्दै महामन्त्री राणाले सामाजिक सञ्जाल फेसबुकमै असहमति समेत जनाएका थिए ।
असन्तुष्ट पक्षले चैत २९ गते सन्तुलित र विश्वसनीय वातावरणमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने, केन्द्रीय महाधिवेशनको मिति एक हप्ताभित्र घोषणा गर्ने र व्यापक सुधारको उद्देश्य लिएर एकताको महाधिवेशन पश्चात् राप्रपाको आदर्श, विधान र अनुशासन विपरीत भएका काम कारबाहीको न्यायसङ्गत छानबिन गरी आगामी महाधिवेशनमा निष्कर्ष पेस गर्न एक छानबिन समिति गठन गर्न माग राख्दै अध्यक्ष लिङ्देनलाई पत्र बुझाएको थियो ।

पत्र बुझाएको एक हप्ता वित्तिसक्दा पनि राप्रपाका अध्यक्ष लिङ्देन र महामन्त्री राणाबीच कुनै छलफल हुन सकेको छैन । विश्वसनिय स्रोतले रिपोर्टस नेपाललाई दिएको जानकारी अनुसार महामन्त्री राणा पक्ष अध्यक्ष लिङ्देनलाई अब कुनै पनि हालतमा अध्यक्ष नस्विकार्ने निष्कर्षमा पुगिसकेका छन् । राणाले राप्रपाबाट बाहिरिएर नयाँ दल खोल्ने वा अन्य कुनै व्यक्तिसँग मिलेर जाने भन्ने विषयमा आफ्नो टिमसँग छलफल गरिरहेका छन् ।
स्रोतका अनुसार अध्यक्ष लिङ्देन र महामन्त्री राणाबीच तत्काल सहमति र सहकार्यको सम्भावना छैन ।




प्रतिक्रिया