आफ्नै ससुरा अर्जुननरसिंह केसीलाई संसदीय दलको नेता बनाउने तयारीमा गगन थापा


काठमाडौं । सरकार गठन भएको महिना दिन पुग्न लाग्दा समेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई संसदिय दलको नेता चयन गर्न सकस परेको छ । फागुन २१ मा सम्पन्न भएको निर्वाचनमा प्रत्यक्र्ष १८ र समानुपातिक तर्फ २० सिट गरि कांगेसमा कुल ३८ सांसद छन् ।

संसदीय दलको नेता चयन गर्नका लागि कांग्रेसले यही ११ वैशाखमा निर्वाचन कार्यतालिका राखेको छ ।

यसैबीच नेपाली कांग्रेसको सभापति गगन थापाले आफ्नै ससुरा अर्जुननरसिंह केसीलाई संसदीय दलको नेता बनाउने तयारीमा लागेको बुझिएको छ । रास्वपाको झण्डै दुई तिहाई बहुमतको सरकार भएको बेला संसदमा बलियो प्रतिपक्षीकोे भुमिका निभाउन सभापति गगनले केसीलाई अगाडि सारेको स्रोतले जनाएको छ ।

राजनीतिक जीवन र उमेरमा परिपक्क भएको नेता केसीलाई सहमतिमै संसदीय दलको नेता बनाउन सभापति गगन लागिपरेको स्रोतको दावी छ ।

स्रोतका अनुसार गगनले सहमतिमै केसीलाई दलको नेता बनाउन आन्तरिक छलफलमा जुटिरहेका छन् । केसीलाई दलको नेता बनाउन शेखर कोइरालाले पनि गगनलाई समर्थन गर्न सक्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।

त्यस्तै गगन निकट स्रोतलाई यस विषयमा सोधपुछ गर्दा कुनै सत्यता नरहेको बताए । केसीलाई पार्टीका नेताहरुले संसदीय दल नेताका आकांक्षीबाट पछि हट्न सुझाव दिइरहेको उनको भनाइ छ । ‘सभापति ज्यु अर्जुननरसिंह केसीलाइ संसदीय दल नेता बनाउन लाग्नुभएको छैन । पार्टीका नेताहरुले अर्जुननरसिंह दाइलाई संसदीय दल नेता नबन्न आग्रह गरिरहनुभएको छ,’गगननिकट स्रोतले भन्यो ।

कांग्रेसमा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यलगाायत संसदीय दल नेतामा आकांक्षी छन्।