मध्यपूर्व उड्ने तयारीमा रहेको श्रीले पायो भारत र बंगलादेशतर्फको अनुमती


काठमाडौं, वैशाख ९ । चार्टर उडानमार्फत सीमित अन्तर्राष्ट्रिय गतिविधि गर्दै आएको श्री एयरलाइन्सले नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीलाई एयर अपरेटर सर्टिफिकेट (एओसी) प्रदान गरेसँगै दक्षिण एसियाली क्षेत्रतर्फ उडान विस्तारको बाटो खुलेको हो। कम्पनीले प्रारम्भिक चरणमा भारतका नयाँदिल्ली र कोलकाता तथा बङ्गलादेशसँग नियमित उडान सञ्चालन गर्ने लक्ष्य राखेको छ।

यद्यपि, व्यावसायिक उडान सुरु गर्नुअघि सम्बन्धित देशका नियामक निकायहरूसँग आवश्यक द्विपक्षीय सहमति र प्राविधिक स्वीकृति लिनुपर्ने हुन्छ। यसका लागि परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

कम्पनीका अनुसार सुरुवाती उडानहरू ८० सिट क्षमताको बम्बार्डियर ड्यास–८–क्यु–४०० जहाजमार्फत सञ्चालन गरिनेछ। यात्रु मागको मूल्याङ्कन गर्दै उडान आवृत्ति क्रमशः बढाइने योजना छ।

श्री एयरलाइन्सले आगामी चरणमा मध्यम दूरीका अन्तर्राष्ट्रिय बजार लक्षित गर्दै दुबई, कतार र मलेसियासम्म सेवा विस्तार गर्ने दीर्घकालीन योजना समेत सार्वजनिक गरेको छ। यसका लागि कम्पनीले ठूलो क्षमताको न्यारोबडी जहाज भित्र्याउने तयारी गरिरहेको जनाएको छ। हाल कम्पनीसँग नौ वटा जहाज (फिक्स्ड विङ) र सात वटा हेलिकोप्टर (रोटर) गरी १६ वटा वायुयान छन् ।