डोजरसहित सुकुम्बासी बस्ती पस्न बालेनको निर्देशन, काठमाडौंमा कहाँ-कति सुकुम्बासी?


काठमाडौं, वैशाख १० । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आगामी शनिबार र आइतबारभित्र बागमती नदी किनारामा रहेका सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्।

गृहमन्त्रीसमेतको कार्यभार सम्हालेका प्रधानमन्त्री बालेनले बुधबार साँझ आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसहितका उच्च सुरक्षा अधिकृतलाई बोलाएर सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका हुन्।

सुरक्षा निकायका प्रमुखले काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर अतिक्रमित बागमती नदी किनाराका बस्ती खाली गराइने बताएको बुझिएको छ। यसअघि काठमाडौं महानगरको मेयर हुँदा नदी किनाराका सुकुम्बासी बस्ती खाली गर्न खोजिए पनि राजनीतिक आडमा प्रतिवाद हुँदा असफल भएको थियो।

काठमाडौं महानगरपालिकाले बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउन पटक पटक प्रयास गरेको छ । १२ मंसिर २०७९ मा महानगरपालिका थापाथलीको सुकुम्बासी बस्ती खाली गराउन डोजर लिएर पुगेको थियो । तर बस्तीका बासिन्दाले प्रतिकार गरेपछि फर्केको थियो । त्यस क्रममा ३६ जना नगर प्रहरी घाइते भएका थिए ।

महानगरपालिकाले त्यसपछि २४ चैत २०७९ मा गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलाउने प्रयास गरेको थियो । त्यहाँ पनि बस्तीका बासिन्दाले सडकमा टायर र काँडेतार लगाएर प्रदर्शन गरेपछि फर्किएको थियो । काठमाडौं महानगरपालिले नदी किनारका सुकुम्बासी बस्ती खाली गराउन सार्वजनिक सूचना निकालेपछि त्यसविरुद्ध उच्च अदालत पाटनमा पनि मुद्दा परेको थियो । २७ चैत २०७९ मा उच्च अदालतले उचित विकल्प दिएर मात्र सुकुम्बासी बस्ती खाली गराउन आदेश दिएको थियो ।

प्रधानमन्त्री शाहले लामो समयदेखि सार्वजनिक सम्पत्तिमाथि कब्जा जमाएर बस्दा विकास निर्माणका कामहरू ठप्प भएको र सहरी सुन्दरता तथा वातावरणमा समेत प्रतिकूल असर पुगेको भन्दै आइतबारसम्म अतिक्रमण हटाउने अभियान तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका हुन्।

अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका अनुसार काठमाडौं उपत्यकाका नदी किनारमा ३ हजार ४९६ अव्यवस्थित घरधुरी रहेका छन् । जसमध्ये काठमाडौं महानगरपालिका–१० को देवीनगरमा ४०, शान्ति विनायकमा, ३६, शंखमुलमा १५० घरधुरी अव्यवस्थित बसोबासी छन् । वडा नं ११ अन्तर्गत थापाथलीमा १४३, वंशीघाटमा १९३, वडा नं ४ को धुम्बाराहीमा ६ र बालुवाटारमा १४ घरधुरी अव्यवस्थित बसोबासी छन् ।

त्यस्तै, वडा नं ३ को खाडी पाखामा १४७, नारायणटोलमा ३२ र रानीबारीमा १० घरधुरी सुकुम्बासी छन् । वडा नं २९ को अनामनगरमा २३, वडा नं १४ को बल्खुमा ४०१, वडा नं ३२ को जडिबुटी चोकमा ११४, वडा नं १६ का बुद्धज्योतिमा ७५, वडा नं २ को ढिकुरेमा १९, वडा नं ३१ को शान्तिनगरमा ४७६, वडा नं २६ को संगमटोलमा ३५, वडा नं ९ को सिनामंगलरगैरीगाउँमा १६२, वडा नं १५ को स्वयम्भूमा ४६ घरधुरी सुकुम्बासी रहेका छन् ।

काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका–९ को कागेश्वरी मनोहरा टोलमा १३ र वडा नं ८ को गोठाटार बुद्धचोकमा ७७ गरी ९० घरधुरी सुकुम्बासी छन् । बुढानिलकण्ठ नगरपालिकाको कपनमा १४ र पाथीभरमा १४२ गरी १५६ वटा अव्यवस्थित घरधुरी छन् ।

प्रधानमन्त्री शाहले जस्तोसुकै दबाब वा अवरोध आए पनि कानुनको कार्यान्वयन गर्दै सार्वजनिक जग्गा सरकारको नियन्त्रणमा ल्याउन कुनै कसर बाँकी नराख्न कडा निर्देशन दिएका छन्।