काठमाडौं, वैशाख १० । गृहमन्त्रीबाट सुधन गुरुङले राजीनामा दिएपछि नयाँ गृहमन्त्रीबारे विभिन्न चर्चा सुरु भएका छन् । हाल प्रधानमन्त्री वालेन्द्र शाहले नै सम्हालेको गृहमन्त्री पदमा मनिषकुमार झा, दीपक बोहरा, कविन्द्र बुर्लाकोटीको नाम चर्चा रहेपनि प्रधानमन्त्री शाहले भने सुनिल लम्साललाई अघि सार्ने मनस्थितिमा रहेको बुझिएको छ ।
ओखलढुंगाका सांसद तथा नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेलदेखि महानगर प्रहरीका पूर्व एसपी राजुनाथ पाण्डेले पनि गृहमन्त्री हुने चर्चा मिडियामा चलाइरहेका छन् । तर प्रधानमन्त्री शाहले भने आफ्ना महानगरको मेयर हुँदादेखिका मुख्य सल्लाहकार रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साललाई नयाँ गृहमन्त्री बनाउने चर्चा भइरहेको छ । उनी गृहमन्त्रीमा आफ्ना विश्वासपात्र लम्साललाई बनाउने र भौतिक पूर्वाधार मन्त्रीमा सुशान्त बैदिकलाई जिम्मेवारी दिने पक्षमा रहेको स्रोत बताउँछ ।
प्रतिनिधिसभाको चुनावमा मालपानीसँग भन्सारछली गरी आयात गरिएको ७ करोड मूल्यको डिफेन्डर वालेन्द्र शाहको प्रचारका लागि सुनिल लम्सालले नै मागेर लगेका थिए । विवादित व्यवसायी कमलकिशोर मालपानीले ७–८ वर्ष पुरानो टोयोटा ल्याण्डक्रुजर लैजान आग्रह गर्दा बालेन्द्र शाहका निकट लम्सालले नयाँ ल्याण्डरोभर डिफेन्डर नै मागेर लगेका थिए । मालपानीका छोरा नितेश मालपानी सुनिल लम्सालका मिल्ने हुन ।
रास्वपामा रविको कोरटिमका रुपमा ग्यालेक्सी गुट, मनिष झा र डा. स्वर्णिम वाग्लेहरुको कांग्रेस आयातित गुट र चुनावको मुखमा आएको वालेन्द्र शाह गुटमध्ये सरकारमा तेस्रो गुट बलियो देखिएको छ ।




प्रतिक्रिया