काठमाडौं, वैशाख १० । पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरूमा ओपीडी सेवा नखुम्च्याउन र बिरामीको सास्ती हटाउन सरकारसँग आग्रह गरेका छन् । पछिल्लो समय सरकारले आइतबार सार्वजनिक बिदा दिएपछि सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीको भिड बढेपछि ओपिडी सेवा नखुम्च्याउन र बिरामीको सास्ती हटाउन सरकारलाई आग्रह गरेका हुन् ।
‘सरकारीमा मात्र रोकिएको ओपीडी सेवाले सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको छ भने अर्कोतिर बिरामीलाई आर्थिक बोझ थपिदिएको छ,’ पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामार्फत् आमनागरिकलाई सहज र सरल रूपमा गुणस्तरीय सेवा उपलब्ध गराएर निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेरमात्रै समग्र स्वास्थ्य प्रणाली नागरिकमैत्री बनाउन सकिने उनको भनाई रहेको छ ।
उनले लेखेका छन् ।
ओपिडी सेवा नखुम्च्याऔं, बिरामीको सास्ती हटाऔं!!
केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीको बिजोग हुन थालेको छ । सरकारीमा मात्र रोकिएको ओपीडी सेवाले सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको छ भने अर्कोतिर बिरामीलाई आर्थिक बोझ थपिदिएको छ ।
विगतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहँदा हामीले:
१) अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिएर सार्वजनिक बिदाका दिनमा समेत निरन्तर सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाएका थियौँ।
२) सरकारी अस्पतालहरूमा हुने सेवाग्राहीको चापलाई ध्यानमा राखेर ओपिडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने र Extended Health Service मार्फत सेवाको समय बढाउने जस्ता अन्य थुप्रै सुधारका कामहरू सुरुवात गरेका थियौँ।
३) स्वास्थ्य सेवा विशिष्ट सेवा भएकोले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि थप प्रोत्साहन भत्ता (Incentive) दिन अध्ययन प्रतिवेदन तयार गरी त्यसको कार्यान्वयन सुरु गरेका थियौँ।
४) अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न पहिलो चरणमा २५०० नयाँ जनशक्ति थप गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएका थियौँ।
सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामार्फत आम नागरिकलाई सहज र सरल रूपमा गुणस्तरीय सेवा उपलब्ध गराएर निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेर मात्र समग्र स्वास्थ्य प्रणाली नागरिकमैत्री बनाउन सकिन्छ ।
यसर्थ, स्वास्थ्य जस्तो संवेदनशील विषयमा नागरिकलाई सेवाबाट बञ्चित गर्ने होइन यसलाई अझ बढी विस्तार गर्ने नीति आवश्यक छ।
यस दिशामा हिजो हामीले सुरुवात गरेका समग्र सुधारका विषयहरूलाई निरन्तरता दिएर स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र नागरिकमुखी बनाउन सरकारसँग विशेष अनुरोध गर्दछु। 🙏




प्रतिक्रिया