मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ आईजीपी नियुक्त गर्ने तयारी


काठमाडौं, वैशाख १० । सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षक (आईजीपी) बनाउने तयारी गरेको छ। वर्तमान प्रमुख राजु अर्यालको चार वर्षे कार्यकाल वैशाख १८ गते सकिनुअघि नै नयाँ नेतृत्व चयन गर्ने तयारी अघि बढाइएको हो।

गृह मन्त्रालय स्रोतका अनुसार अर्याल स्वयंले कार्यकाल सकिनुअघि नै विदा बसेर संस्थागत प्रणाली बसाल्ने उद्देश्यसहित नयाँ नेतृत्व चयनका लागि आग्रह गरिसकेका छन्। सोही आधारमा आज बस्ने मन्त्रिपरिषद् बैठकबाट पौडेललाई आगामी कार्यकालका लागि आईजीपी नियुक्त गर्ने सम्भावना रहेको छ।

महानिरीक्षक पदका लागि एआईजीहरू नारायणदत्त पौडेल र वंशिधर दाहालबीच प्रतिस्पर्धा रहेको थियो। तर, पौडेल दाहालभन्दा करिब पाँच महिना अगाडि एआईजीमा बढुवा भएकाले उनी अघि देखिएका छन्। पौडेल २०७९ जेठ ६ गते एआईजीमा बढुवा भएका थिए भने दाहाल असोज २८ गते सो पदमा पुगेका थिए। प्रस्तावित नयाँ प्रमुख पौडेल २०५४ सालमा नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट सेवा प्रवेश गरेका अधिकृत हुन्।