काठमाडौँ । सरकारले सुकुम्बासी बस्ती खाली गराउन निर्देशन दिएपछि जेनजी रेड फोर्स नेपालले कडा आपत्ति जनाएको छ। प्रधानमन्त्री बालेन शाहले शनिबार र आइतबारभित्र अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न दिएको पछिल्लो आदेशप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै रेड फोर्सले यसलाई अमानवीय र आत्मघाती कदमको संज्ञा दिएको हो।
केन्द्रीय संयोजक स्मृति तिमल्सिनाद्वारा जारी विज्ञप्तिमा बिना कुनै विकल्प, बिना क्षतिपूर्ति र ठोस व्यवस्थापन नै नगरी वर्षातको मुखमा गरिब सर्वहारा वर्गमाथि डोजर चलाउनु अन्यायपूर्ण भएको उल्लेख छ। विगतको चुनाव सम्झिँदै रेड फोर्सले वर्तमान प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका सत्तासीन नेताहरूले दिएका अभिव्यक्तिहरूको स्मरण गराएको छ।
निर्वाचनका बेला भोटका लागि ‘हामी सुकुम्बासी हटाउँदैनौँ, बरु डोजर चले आफैँ छाती थाप्न आउँछौँ’ भन्ने नेताहरूले अहिले सत्तामा पुगेपछि तिनै जनतालाई सडकमा पुर्याउन लागेको भन्दै विज्ञप्तिमा आक्रोश पोखिएको छ।





प्रतिक्रिया