काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन ।
नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा गोल्छासमेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा उनलाई पक्राउ गरिएको हो ।
विभिन्न बीमा कम्पनीको फन्ड विभिन्न कम्पनीको सेयरमा चलखेल गर्नका लागि प्रयोग हुने गरेको प्रतिवेदन नेपाल धितोपत्र बोर्डले तयार पारेको थियो ।
विवादित व्यवसायी दिपक भट्टले व्यक्ति तथा निजी कम्पनीहरुबाट सस्तोमा सेयर खरिद गर्ने र तिनको मूल्य बढाएर विभिन्न बीमा कम्पनीहरुलाई बक्रिी गर्ने गरेको देखिएको बोर्डको प्रतिवेदनमा उल्लेख छ ।
सो अनुसन्धानले यस्तो गडबडीका प्रमुख पात्रका रुपमा भट्ट र भृकुटी स्टक ब्रोकिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत संदिप चाचान रहेको उल्लेख गरेको छ । उनीहरुले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९६ र ९८ अनुसार धितोपत्र बजारलाई प्रभावित पार्ने तथा जालसाजी युक्त कारोबारसम्बन्धी कसुर गरेको बोर्डको निष्कर्ष छ । भट्टलाई यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी हिरासतमा राखेको छ ।
त्यस्तै, सो कार्यमा सहयोगी भूमिका हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन क्यापसर्ब लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फन्ड, रोहित गुप्ता र शेखर गोल्छा रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
साथै, शुभी अग्रवाल, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, ऋषिराज मोर, र राजबहादुर शाहसमेत नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढाउने कार्यमा संलग्न रहेको बोर्डको अनुसन्धानले देखाएको छ । बोर्डले यी व्यक्ति तथा संस्थामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको थियो ।




प्रतिक्रिया