काठमाडौं, वैशाख ११ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सुकुम्बासी समस्यालाई अमानवीय र असंवेदनशील ढंगले नहेर्न सरकारलाई आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुकुम्बासी’ अर्थात् आवासविहीन सहरी गरिबहरूको समस्यालाई अमानवीय र असंवेदनशील ढंगले कसैले पनि नहेरौँ, नबोलौँ! झन् एकै चोटि ‘डोजर चलाउने’ कुरा र फलानाले नसकेको ढिस्कानाले सक्ने भनेर उराल्ने कुरा नगरौँ!’
सरकारले भोली र पर्सी काठमाडौंका तीन स्थानबाट सुकुम्बासी बस्ती खाली गराउने तयारी थालेसँगै उनको यस्तो भनाइ आएको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरीको संयुक्त टोलीले बिहीबार माइकिङ गर्दै अतिक्रमित जग्गा खाली गर्न अन्तिम चेतावनी दिएको छ।
यसैबिच, पूर्वप्रधानमन्त्री भट्टराईले आफू सहरी विकास योजनाको विद्यार्थी समेत भएको नाताले आफ्नो प्रधानमन्त्री कालमा भएका पहलहरूको स्मरण गरेका छन्। उनले बालाजु इचंगुनारायणमा सुकुम्बासी पुनर्स्थापनाका लागि सामूहिक आवास निर्माण गरिएको उल्लेख गर्दै नयाँ सरकारलाई विधिसम्मत ढंगले समस्या समाधान गर्न सुझाव दिएका छन्।
उनले थप लेखेका छन्, ‘नयाँ सरकारले ती अनुभवमा समेत टेकेर विधिसम्मत र न्यायपूर्ण ढगले वास्तविक सुकुम्बासीहरूको पहिचान गरी सम्मानजनक रूपमा उनीहरूको पुनर्स्थापना गरोस्। हतारिएर गल्ती गर्नु सट्टा ‘दश चोटि नाप्नू, एक चोटि काट्नू’ भन्ने लोकोक्ति अनुसरण गरोस् १’
यसअघि २०६८ सालमा उनी आफैँ प्रधानमन्त्री हुँदा पनि सहरी विकास मन्त्रालयले थापाथलीमा डोजर चलाएको थियो। तर, त्यति बेला समस्याको पूर्ण समाधान हुन सकेको थिएन।




प्रतिक्रिया