गण्डकी प्रदेश सरकारले ४ करोडको गाडी खरिद गर्दै


पोखरा । भदौ २४ गतेको जेनजी आन्दोलनका बेला गाडी जलेपछि गण्डकी प्रदेश सरकारले संसद सचिवालयका लागि ४ करोड रुपैयाँ बराबरको गाडी खरिद गर्ने भएको छ । वैशाख ९ गते बसेको मन्त्रिपरिषद बैठकले सचिवालयका लागि गाडी खरिद गर्ने निर्णय गरेको हो ।

भदौ २४ गतेको जेनजी आन्दोलनका बेला सभामुख, उपसभामुखसहित संसद सचिवालयका ४ वटा चार पांग्रे गाडी जलेका थिए । गाडी जलेपछि राप्रपा संसदीय दलका नेता पञ्चराम तमु र प्रमुख सचेतक विन्दु पौडेलले फिर्ता गरेको गाडी उनीहरुले चढिरहेका छन् ।

गाडी खरिदका लागि ४ करोड रुपैयाँको सैद्धान्तिक सहमति दिइएको र अबका गाडी इलेक्ट्रिक खरिद गर्नेबारे छलफल भइरहेको अर्थमन्त्री जीत बहादुर शेरचनले जानकारी दिए ।

मन्त्रिपरिषदको बैठकले जेनजी आन्दोलनका क्रममा जलेका १ सय १४ सवारी साधन लिलाम गर्ने निर्णयसमेत गरिएको अर्थमन्त्री शेरचनले बताए ।