बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-१ साङ्ला बस्ने ४८ वर्षीय रोहितलाल श्रेष्ठ र काठमाडौं महानगरपालिका-२८ बस्ने मोरङ विराटनगर महानगरपालिका-१० घर भएका मणी निरौला रहेका छन् । 

सर्वोच्च अदालतको २०८० असोज १५ गतेको फैसलाले उक्त मुद्दामा १३ लाख ३३ हजार ३ सय ३३ रूपैयाँ जरिवाना र २ वर्ष कैद सजाय ठहर भई फरार रहेका रोहितलाललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ महाराजगञ्जबाट शुक्रबार पक्राउ गरेको हो । यसैगरी उच्च अदालत पाटनको २०७९ असार १ गतेको फैसलाले सोही मुद्दामा २० लाख रूपैयाँ जरिवाना, ८० हजार रूपैयाँ पीडित राहत कोषमा जम्मा गराउने र ८ दिन कैद सजाय ठहर भई फरार रहेका मणीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो । 

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।