काठमाडौं । सरकारले आज(शनिबार) बिहानबाट उपत्यकाका तीन स्थानका सुकुमवासी बस्ती खाली गराइरहेको छ ।
यसैबीच थापाथलीस्थित बागमती नदी आसपासका सुकुमवासीहरू सरकारको सम्पर्कमा जान थालेका छन् ।
दिउँसो १ बजेसम्म २२ परिवारका सदस्यहरू घरवारविहीन भएको भन्दै सम्पर्कमा आएका छन् । उनीहरू आफ्नो परिवारको विवरण सरकारी टोलीलाई उपलब्ध गराएका हुन् ।
सरकारी टोलीले अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन गरिरहेको छ । विवरण संकलन गरिसकेपछि उनीहरूलाई कीर्तिपुरस्थित राधास्वामी आश्रममा लाने तयारी छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरीफाँट, काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगरले सुकुमवासीको विवरण जम्मा पारिरहेको छ ।
छुट्टाछुट्टै क्षेत्रका सुकुमवासीहरूका लागि फरक फरक डेस्क स्थापना गरेर सरकारले उनीहरूको ‘स्क्रिनिङ’ गरिरहेको हो ।




प्रतिक्रिया