बीपी राजमार्ग बन्द,अलपत्र यात्रु पठाइँदै


काभ्रेपलाञ्चोक । रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग बन्द भएको छ। काभ्रेपलाञ्चोक र सिन्धुलीको विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो।

शनिबारको वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले बताए । उनका अनुसार आइतबार साँझसम्म पनि सडक खुलाउन समस्या हुनेछ ।

प्रहरीका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, ठुलोढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको छ । यसैगरी नेपालथोक र सिन्धुलीतर्फ आँपघारी क्षेत्रमा पनि डाइभर्सन बगाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार बीपी राजमार्गको विभिन्न स्थानमा डाइभर्सन बगाएका कारण काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा सयौं सवारी साधन ‘होल्ड’ गरिएको थियो ।

आइतबार बिहानबाट भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेलमा रोकिएका सवारी साधनहरुलाई सुरक्षित स्थानमा पठाइसकिएको छ । मंगलटार क्षेत्रमा रोकिएका यात्रीहरूलाई पनि वैकल्पिक मार्ग प्रयोग गरेर पठाउन थालिएको छ ।

प्रहरीका अनुसार मंगलटारसम्म यात्रु बोकेर आएका सवारी साधनहरुलाई त्यहीँ रोकेर यात्रीहरूलाई रोशीखोला पारीसम्म पैदल हिँडाएर त्यहाँबाट अर्को गाडीको व्यवस्था गरी तेमालको कालधार–नारायणस्थान–भकुण्डे हुँदै धुलिखेलतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मौसममा सुधार आई सडक सुरक्षित भएको सुनिश्चित भएपछि मात्र पुन:सवारी साधन सञ्चालन गरिनेछ । सो सम्बन्धमा अर्को सूचना जारी गरी जानकारी गराइने प्रहरीले जनाएको छ । सडकबारे जानकारी लिनुपरेमा नेपाल प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।