हालसम्म २१४ सुकमबासी परिवार सरकारको सम्पर्कमा


काठमाडौं । सरकारले आज पनि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ स्थित गोठाटार बुद्धचोक र वडा नं.९ को मनोहरा टोलमा रहेका सुकुमबासी बस्तीहरू खाली गर्न थालिएको छ। बस्तीमा रहेका भौतिक संरचना भत्काउनुपूर्व त्यहाँ रहेका मानिसहरूका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरेका थिए।

यस क्षेत्रका संरचनाहरू भत्काइसकेपछि शनिबार बाँकी रहेका काठमाडौं वडा नं.९ स्थित गैरीगाउँ र वडा नं.३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गरिनेछ।

हिजो काठमाडौँ वडा नं.११ स्थित थापाथलीमा रहेको जग्गा खाली गरिएको थियो। उक्त स्थानको जग्गा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा खाली गरिएको थियो। बस्तीहरू खाली गर्ने क्रममा हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उनीहरूलाई तत्कालका लागि विभिन्न होटलहरूमा बसोबास र खानपानको व्यवस्था मिलाइएको छ।