सुकुमवासी भएको स्थानमा पुग्यो मानव अधिकार आयोगको टोली


काठमाडौं । सुकुमवासीको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली फिल्डमा खटिएको छ । आइतबार बिहान आयोगको टोली सुकुमवासीको अवस्था बुझ्न कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेको हो।

शनिबार थापाथली र गैह्रीधारा क्षेत्रबाट सुकुमवासीलाई हटाइएको थियो । उनीहरुलाई नेपाल प्रहरी र नगर प्रहरीको टोलीले नागार्जुन, कीर्तिपुरको सत्संग भवन लगायतका स्थानमा लगेर राखेको छ ।

उनीहरुलाई हटाउँदा मानव अधिकार हनन भएको आरोप समेत लाग्ने गरेकाले मानव अधिकार आयोगको टोली अनुगमनका लागि खटिएको आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिए ।

आयोगले सुकुमवासीहरुको व्यवस्थापनको सन्दर्भमा २०६९ सालमा सरकारलाई गरेको सिफारिस कार्यान्वयन गर्न भन्दै यही वैशाख ११ गते पत्राचार गरेको थियो ।

आयोगले २०६९ साल जेठ १ गते वास्तविक सुकुमवासीहरुको पहिचान गरी उनीहरुको बसोबासको वैकल्पिक व्यवस्था मिलाएर मात्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिइएको थियो ।