एन्फा पदाधिकारीलाई विदेश जान रोक,भयो पासपोर्ट रोक्का


काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)का पदाधिकारीलाई विदेश जान रोक लगाएको छ ।

आर्थिक विषयको छानबिनका लागि सबै पदाधिकारीलाई विदेश जान रोक लगाइएको खेलकुद मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निलम्बन गरेको थियो ।

राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो । खेलकुद मन्त्रालयमार्फत आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रअनुसार छानबिन समिति गठन गरिएको राखेप सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए ।

राखेपले छानबिनका क्रममा एन्फा पदाधिकारीको पासपोर्ट रोक्का गर्न खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो । खेलकुदले गृह मन्त्रालयमार्फत पत्र पठाएपछि अध्यागमन विभागले पासपोर्ट रोक्का गरेको हो ।

अर्ली इलेक्सन विवादका कारण एन्फालाई राखेपले चैत ११ मा तीन महिनाका लागि निलम्बन गरेको हो ।