काठमाडौ । नेकपा (एमाले)का सचिव महेश बस्नेत ले सामाजिक सञ्जाल फेसबुकमार्फत कूटनीतिक मर्यादासम्बन्धी विषय उठाउँदै सरकारका मन्त्रीहरूको व्यवहारप्रति टिप्पणी गरेका छन् । उनले साधारण भेटघाटमै पनि समकक्ष व्यक्तिको अगाडि ‘उपरखुट्टी लगाएर बस्ने’ शैली असभ्य मानिने उल्लेख गर्दै, मित्र राष्ट्रका राजदूतसँगको भेटमा यस्तो व्यवहार झन् अस्वीकार्य हुने बताएका छन् ।
उनको यो भनाईले बर्तमान सरकार र कुटनीतिक मर्यादाको विषयमा बहस सिर्जना गरेको छ ।
बस्नेतले आफ्नो स्टाटसमा लेखेका छन् कि “अरूको सामु दब्नु हुँदैन भन्ने अर्थ अशिष्ट हुनु पनि होइन,” भन्दै आत्मसम्मान र शिष्टाचारबीच सन्तुलन आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । भारतीय राजदुत नविन श्रीवास्तवसँगको भेटमा उर्जामन्त्री विराजभक्त श्रेष्ठको बसाईको शैलीलाई लिएर कुटनीतिक शिक्षाको आवश्यकताको विषयमा बहस सुरु भएको हो ।
उनले बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरूलाई लक्षित गर्दै कूटनीतिक व्यवहार र मर्यादा सिकाउन आवश्यक देखिएको टिप्पणी गरेका हुन् । बस्नेतले उठाएसँग अहिले यो विषय बहसको विषय बनेको छ ।
हुनत पहिला पनि नेपाली अधिकारीहरु समक्ष विदेशी कुटनीतिज्ञले उपरखुट्टी लगाएको भनेर बहस नभएको छ ।
कूटनीतिक सन्दर्भमा उठेको प्रश्न
नेपालजस्तो भूपरिवेष्ठित मुलुकले छिमेकी तथा मित्र राष्ट्रहरूसँग सम्बन्ध कायम गर्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । विशेषगरी भारत सँग नेपालको ऐतिहासिक, सांस्कृतिक तथा पारिवारिक ‘रोटी–बेटी’ सम्बन्ध रहेको छ । भारतले नेपालको विकासलगायत विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।
यस्तो पृष्ठभूमिमा भारतका राजदूतसँगको भेटमा आवश्यक आत्मीयता र सम्मान देखिन नसकेको वा कुटनीतिक मर्यादा नजानेको आरोप छ । पदानुक्रममा राजदूत मन्त्रीभन्दा तल भए पनि उनी आफ्नो देशका प्रतिनिधि भएकाले उच्च सम्मान दिनुपर्ने कुटनीतिक मर्यादा हो । ‘उपरखुट्टी लगाउने जस्ता साना देखिने व्यवहारले पनि सम्बन्धमा नकारात्मक सन्देश दिन सक्छ’, परराष्टविद्हरु बताउँछन ।
कूटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय अभ्यास
अन्तर्राष्ट्रिय कूटनीतिमा शारीरिक हाउभाउ, बसाइँशैली, बोलीचाली लगायत सबै पक्षलाई मर्यादित रूपमा हेरिन्छ । विशेष गरी राजदूत वा उच्चस्तरीय प्रतिनिधिसँगको भेटमा औपचारिकता, सम्मानजनक भाषा र शिष्ट व्यवहारलाई महत्वपूर्ण मानिन्छ । यस्ता सन्दर्भमा सानो देखिने व्यवहारले पनि सन्देशात्मक अर्थ राख्न सक्छ, जसले द्विपक्षीय सम्बन्धमा प्रभाव पार्न सक्ने कूटनीतिक विश्लेषकहरू बताउँछन् ।
राजनीतिक प्रतिक्रिया र बहसको सम्भावना
बस्नेतको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा कूटनीतिक शिष्टाचार र राष्ट्रिय स्वाभिमानबीचको सन्तुलनबारे बहस सुरु हुने संकेत देखिएको छ । केहीले उनको भनाइलाई कूटनीतिक मर्यादाको पक्षमा उठाइएको जायज प्रश्नका रूपमा लिएका छन् भने अर्काथरि यसलाई राजनीतिक टिप्पणीका रूपमा हेरेका छन्।
नेपालले भारत र चीन जस्ता दुई ठूला छिमेकीबीच सन्तुलित कूटनीति अपनाउनुपर्ने अवस्थामा, शिष्टाचार र व्यवहारका विषयहरू पनि संवेदनशील बन्ने गरेका छन् । यस्तो अवस्थामा सरकारी पदाधिकारीहरूले कूटनीतिक मर्यादा, व्यवहार र अन्तर्राष्ट्रिय अभ्यासबारे सचेत रहनु आवश्यक रहेको छ ।




प्रतिक्रिया