काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले पुराना दलहरूको कमजोरीको जगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको स्वीकार गरिनुपर्ने बताएका छन् ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पुनले ३६ वर्ष शासन सत्तामा रहेका कांग्रेस–एमाले र १८ वर्ष सत्तामा बसेका आफूहरूको कमजोरीको जगमा देशमा लोकप्रियतावादीहरूको जन्म भएको स्विकार्न हिचकिचाउन नहुने बताएका हुन् ।
पुराना दल, नेता तथा लोकतान्त्रिक संस्थाहरूको विरोध गर्दा जनता किन खुसी भए भन्नेबारे गम्भीर समीक्षा गरेर अघि नबढे आफूहरूतर्फ जनमत फर्कने सम्भावना नरहेको स्विकार गरे ।
‘अरू साथीहरू ३६ वर्षदेखि र हामी १८ वर्षदेखि सत्तामा छौँ । बिना कारण त मानिसमा निराशा आएन । पुराना राजनीतिक पार्टीका नेता र दलहरूको विरोध गर्दा जनता किन खुसी भए भनेर हामीले आफूलाई हेर्नुपर्छ । विद्यालय र विश्वविद्यालयमा हामीले विद्यार्थी सङ्गठन, उद्योग प्रतिष्ठानमा मजदुर सङ्गठन, सरकारी निकायमा कर्मचारी सङ्गठन र शैक्षिक संस्थामा शिक्षक सङ्गठनको परिचालनमा हामी कहाँ चुक्यौँ ? किन नागरिक संस्थाहरू खारेज हुनुपर्छ भन्दा जनता खुसी हुने अवस्था आयो ?’ उनले भने ।




प्रतिक्रिया