पूर्णबहादुरले बोलाए देउवा समूहको दुई दिने भेला, को–को हुँदैछन् सहभागी?


काठमाडौं, वैशाख १३ । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरू, जिल्ला सभापतिहरू लगायतको भेला बोलाएका छन्। खड्काले पर्सी वैशाख १५ र १६ गते दुई दिनका लागि भेला बोलाएका हुन् । धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा आयोजना हुने भेलामा आफू निकटका जिल्ला सभापति, उपसभापति तथा अन्य पदाधिकारीलाई सहभागी हुन आग्रह गरिएको छ ।

भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा समूहबाट १४ औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा निर्वाचित भएकाहरूलाई पनि बोलाइएको छ । भेलामा भावी रणनीतिकका विषयमा छलफल हुनेछ । आगामी दिनमा हामी कसरी अघि बढ्ने तथा १५औँ महाधिवेशनको तयारी कसरी गर्ने जस्ता विषयमा बृहत छलफल र समीक्षा हुनेछ ।

गगनकुमार थापाको भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएको छ । देउवा समूह १४ औँ महाधिवेशन र कथित विशेष महाधिवेशनबाट गठित केन्द्रीय कार्यसमितिलाई मिलाएर १५औँ महाधिवेशन आयोजक समिति बनाएर जानुपर्ने पक्षमा छ । पार्टी एकताका लागि देउवा समूहको अगाडि सारेको प्रस्तावलाई गगन थापाले मानेका छैनन् ।

कांग्रेसलाई बचाउन र पार्टी एकताका लागि गगन थापा जिम्मेवार हुनुपर्ने देउवा समूहको भनाइ छ । दुई दिनको भेलापछि देउवा समूहले ७७ वटै जिल्लाहरूमा भेला र कार्यक्रम राख्नेछ । त्यसपछि छिट्टै राष्ट्रियस्तरको भेला काठमाडौंमा हुनेछ । हाल स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेको देउवा फलोअपका लागि भोली डाक्टरलाई भेट्दैछन् ।