काठमाडौं । नेपाली कांग्रेसनिकट नेविसंघले मनोहरा खोलाको किनारमा सञ्चालनमा रहेको सरस्वती आधारभूत विद्यालयमा डोजर चलाएकोप्रति आपत्ति जनाएको छ ।
सुकुमबासी बस्ती हटाउँदा वैकल्पिक योजनाबिनै विद्यालयमा पनि डोजर चलाइएपछि नेविसंघले आपत्ति जनाएको हो ।
प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति जारी गर्दै विद्यालय केवल भौतिक संरचना नभई बालबालिकाको सिकाइ, संरक्षण र भविष्य निर्माणको आधार भएकाले यस्तो संवेदनशील अवस्थामा तुरुन्त समाधान आवश्यक रहेको बताइएको छ। नेविसंघले प्रभावित बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन सुरक्षित स्थानमा विद्यालय सञ्चालनका लागि वैकल्पिक स्थानको व्यवस्था गर्न, अस्थायी कक्षा सञ्चालन गर्न तथा आवश्यक शैक्षिक सामग्री र शिक्षक व्यवस्थापन सुनिश्चित गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाले त्यहाँ अध्ययनरत बालबालिकाको नियमित पठनपाठन, सिकाइ निरन्तरता तथा शिक्षाको अधिकारमा प्रत्यक्ष असर परेकोप्रति हामी गम्भीर रूपमा चिन्तित छौँ । विशेषतः आगामी २० गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने तयारी भइरहेका बेला २७५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालय वैकल्पिक योजना विनै भत्काउनु अत्यन्त संवेदनशील एवं आपत्तिजनक विषय हो ।’





प्रतिक्रिया