अभिमनु पटेल, रौतहट । गौर नगरपालिका–८ पुरेनवा छठ घाटस्थित गुठ्ठी संस्थानको जग्गामा करिब ५२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको चिल्ड्रेन पार्क अलपत्र परेको छ ।
बालबालिकाका लागि सुरक्षित र आकर्षक मनोरञ्जनस्थल बनाउने उद्देश्यले सुरु गरिएको यो योजना अहिले जिर्ण बन्दै गएको छ .
पार्कको नाममा केवल चारैतिर कम्पाउण्ड गरेर छाडिएको छ भने भित्र आवश्यक खेल सामग्री, पूर्वाधार तथा अन्य व्यवस्थापनको पूर्ण अभाव देखिन्छ । स्थानीयवासीका अनुसार निर्माण कार्य सुरु भएदेखि नै गुणस्तरहीन काम र अनियमितताको गुनासो उठ्दै आएको थियो ।
यस परियोजनामा व्यापक अनियमितता भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । तर, उक्त उजुरीमाथि छानबिन कहाँसम्म पुग्यो भन्नेबारे हालसम्म कुनै स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन, जसले झन् शंका उत्पन्न गरेको छ ।
विकासका नाममा बजेट खर्च गरिए पनि प्रत्यक्ष रूपमा देखिने उपलब्धि शून्यजस्तै हुँदा यो परियोजना रकम दुरुपयोगको उदाहरण बन्ने खतरा देखिएको छ ।





प्रतिक्रिया