बुद्ध धर्म मात्र होइन, जीवन जिउने ‘वैज्ञानिक कला’

सन्दर्भ : बुद्ध जयन्ती


करिब दुई हजार ६ सय वर्षअघि लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतमले बोधगयामा बुद्धत्व प्राप्त गरेपछि दिएका उपदेशहरू आजको अस्थिर विश्वमा अझ बढी सान्दर्भिक देखिएका छन्। २५७० औँ बुद्ध जयन्ती मनाइरहँदा काठमाडौँका स्वयम्भू, बौद्धदेखि लुम्बिनीसम्म ओइरिएका श्रद्धालुहरू केवल कर्मकाण्डमा मात्र सीमित छैनन्, उनीहरू बुद्धले देखाएको ‘मध्यम मार्ग’ र ‘प्रज्ञा’को खोजीमा समेत देखिन्छन्।

बुद्धका उपदेशहरूको सङ्ग्रह ‘त्रिपिटक’, ‘धम्मपद’ र ‘सुत्तनिपात’मा समाविष्ट दर्शनलाई केलाउँदा यसले व्यक्तिको आन्तरिक रूपान्तरणदेखि समाजको संरचनात्मक सुधारसम्मको मार्गचित्र कोरेको देखिन्छ।

बुद्ध दर्शनको प्रस्थानविन्दु चार आर्य सत्य हुन्। संसारमा दुःख छ भन्ने यथार्थलाई स्विकार्दै त्यसको कारण तृष्णा भएको बुद्धको ठहर छ। तर, बुद्ध दर्शन निराशावादी छैन । यसले दुःख निवारण सम्भव छ भन्दै ‘आर्य अष्टाङ्गिक मार्ग’को वैज्ञानिक समाधान प्रस्तुत गर्छ।

सम्यक दृष्टि, संकल्प, वचन, कर्म, आजीविका, व्यायाम, स्मृति र समाधि— यी आठ मार्गले मानिसलाई नैतिक र मानसिक रूपमा सन्तुलित बनाउँछन्। आजको प्रतिष्पर्धी युगमा सम्यक् आजीविका र सम्यक् स्मृति (सजगता) को अभावमा बढ्दै गएको मानसिक तनावका लागि बुद्धका यी उपदेशहरू निकै नै उपयोगी सावित भइरहेका छन्।

बुद्ध केवल धार्मिक गुरु मात्र थिएनन्, उनी एक महान् सामाजिक क्रान्तिकारी पनि थिए। सुत्तनिपातमा बुद्धले भनेका छन्— ‘जन्मले कोही अछूत हुँदैन, कर्मले अछूत वा ब्राह्मण हुन्छ।’ जातीय विभेद र वर्ण व्यवस्थाको चरम अवस्थामा बुद्धले ‘ज्ञ’अर्थात् ज्ञानको क्रान्ति सुरु गरेका थिए। प्रधानमन्त्री बालेन शाहले पनि बुद्ध जयन्तीका अवसरमा यही सन्दर्भलाई जोड्दै ‘साँचो क्रान्ति क बाट होइन ज्ञ बाट सुरु हुन्छ भनी बुद्धको ज्ञानको महत्त्वलाई उजागर गरेका छन्।

वर्तमान विश्वमा बढ्दो हिंसा र युद्धका बीच बुद्धको अहिंसा र मैत्रीको सन्देश झनै टड्कारो बनेको छ। बुद्धले दिएका पञ्चशील व्यक्तिगत चरित्र निर्माणका न्यूनतम आधार हुन्। यी पाँच नियमको पालना मात्रै हुन सके समाजमा अपराध र भ्रष्टाचारमा ६० प्रतिशतभन्दा बढी कमी आउने विश्लेषकहरूको तर्क छ।

बुद्ध दर्शनको सबैभन्दा सबल पक्ष यसको तार्किकता हो। बुद्धले आफ्ना अनुयायीहरूलाई भनेका थिए— ‘मेरो कुरा पनि जाँचेर मात्र विश्वास गर।’ अन्धविश्वासको सट्टा तर्क र अनुभवमा जोड दिने भएकाले नै बुद्ध धर्म आधुनिक विज्ञानसँग नजिक मानिन्छ। अनित्यताको सिद्धान्तले संसारमा केही पनि स्थायी छैन भन्ने सिकाउँछ, जसले मानिसलाई सफलतामा नमात्तिन र असफलतामा नआत्तिन प्रेरित गर्छ।

स्वयम्भू, बौद्धनाथ र लुम्बिनीमा गुञ्जिरहेको ‘शान्ति पाठ’ले नेपाल बुद्ध भूमि हुनुको गौरव त बढाएको छ नै, तर बुद्धलाई केवल मूर्तिमा मात्र पूजा गरेर पुग्दैन। बुद्धले भनेको अप्पदीपो भव अर्थात् आफैँ ज्योति बन र सजगताका साथ आफ्नो मुक्ति आफैँ खोज भन्ने उपदेशलाई हामीले आत्मसात् गर्नु नै बुद्ध जयन्तीको वास्तविक सार्थकता हुनेछ।