काठमाडौं, असार ३। नेपाली कवितालाई केन्द्रमा राखेर निर्माण गरिएको टेलिभिजन रियालिटी शो ‘जुनियर द पोएट आइडल’ यही असार ९ गतेदेखि प्रसारणमा आउने भएको छ। कार्यक्रम हरेक मंगलबार राति ८ बजे प्राइम टेलिभिजन एचडीमार्फत प्रसारण गरिने कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारीले जानकारी दिए ।
उक्त कार्यक्रको लागि आज (बुधबार) प्राइम टेलिभिजनको तर्फबाट अध्यक्ष तथा संचालक ऋषि धमला र कार्यक्रमका निर्देशक अधिकारीबीच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
सम्झौतापछि बोल्दै प्राइम टेलिभिजनका संचालक ऋषि धमलाले अधिकारीको व्यावसायिकताको खुलेर प्रशंसा गरे । ‘अमनप्रताप अधिकारी एकदमै बौद्धिक व्यक्तित्व हुनुहुन्छ । उहाँ जस्तो अनुभवी निर्देशकसँग सहकार्य गरेर अगाडि बढ्न पाउँदा हामी निकै उत्साहित छौ’ धमलाले भने ।

धमलाका अनुसार प्राइम टेलिभिजनले अबका दिनमा बौद्धिक तथा स्तरीय कार्यक्रमहरूलाई विशेष प्राथमिकतामा राख्ने रणनीति लिएको छ । हाल प्राइमले चर्चित रियालिटी शो ‘कमेडी दरबार’ लगायत झन्डै आधा दर्जन विभिन्न रियालिटी शोहरू प्रशारण गरिरहेको छ । टेलिभिजनमा प्रसारण हुने मनोरञ्जन र बौद्धिक प्रस्तुतिमा आधारित रियालिटी शोहरूले चाँडै नै ठूलो फड्को मार्ने धमलाको दाबी छ ।
‘सिनियर द पोइट आइडल’को दुई सिजन सफलतापूर्वक यसअघी नै सम्पन्न भैसकेको छ । ‘जुनियर द पोइट आइडल’मा १८ वर्षसम्मका र सो भन्दा कम उमेरका बालबालिका तथा किशोर-किशोरीहरूले भाग लिन पाइने निर्देशक अधिकारीले बताए । अधिकारीका अनुसार यो सिजनमा १८ वटा एपिसोड हुनेछ ।
निर्णायकका रूपमा विप्लव प्रतीक, गौरी मल्ल र हर्क साउद रहेका छन् भने कार्यक्रमको प्रस्तुति दिव्यदेव ले गर्नेछन्। ‘जुनियर द पोएट आइडल’ केवल कविता लेखनमा सीमित नभई प्रस्तुति, भाव सम्प्रेषण र समग्र कलात्मक अभिव्यक्तिको प्रतियोगिता भएको आयोजकले जनाएको छ ।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्



प्रतिक्रिया