फौजी परम्पराअनुसार सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ


काठमाडौं । चार वर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई फौजी परम्पराअनुसार औपचारिक रूपमा बिदाइ गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित विशेष समारोहमा महानिरीक्षक अर्यालले नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सङ्गठन प्रमुखको छडी र सङ्गठनको झण्डा हस्तान्तरण गर्दै जिम्मेवारी बर–बुझारथ गरेका हुन् ।

समारोहमा बोल्दै अर्यालले सुरक्षा सङ्गठनको सर्वोच्च पदसम्म पुगेर सफलतापूर्वक अवकाश लिन पाउनु आफ्नो जीवनको महत्वपूर्ण उपलब्धि भएको बताए । उनले सङ्गठन सुधार कुनै एक व्यक्तिको कार्यकालमा मात्र सीमित नभई निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गरे ।

उनले आफ्नो कार्यकालमा राष्ट्र, सङ्गठन र नागरिक सुरक्षालाई प्राथमिकतामा राख्दै मातहत कर्मचारीको हितलाई पनि ध्यान दिइएको बताए ।

नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई अझ आधुनिक, सक्षम, व्यावसायिक र जनउत्तरदायी बनाउन निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। उनले सुशासन, पारदर्शिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति संस्थागत रूपमा स्थापित गरिने बताए ।

पौडेलले उच्च नैतिक आचरण र दृढ नेतृत्वले मात्र प्रभावकारी सुरक्षा सङ्गठन निर्माण गर्न सकिने उल्लेख गर्दै सङ्गठनलाई राज्य र जनताप्रति थप विश्वासयोग्य बनाइने धारणा राखे ।

समारोहमा पूर्व महानिरीक्षकहरू, अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारी तथा वरिष्ठ र कनिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।