काठमाडौँ, १९ वैशाख । काठमाडौँ महानगरपालिका–२३ जोरगणेश ओमबहाल टोलको न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ ।
संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित टिवेट हाउस कलेक्सनमा पुगेको यो मूर्ति २०७८ साल फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो । पुरातत्व विभाग, नेपाली सम्पदा अभियन्ताहरूले मूर्ति फिर्ता ल्याउने प्रक्रियामा आफूलाई समर्पित गरेपछि फिर्ता भएको मूर्ति राष्ट्रिय सङ्ग्रहालयमा राखेर संरक्षण गरिएको थियो ।
शुक्रबार वैशाख १८ गते बुद्ध जयन्तीको अवसर पारेर विहारमा मूर्तिलाई मूल आसनमा पुनःस्थापित गरिएको हो ।
हनुमानढोकाबाट विहारमा मूर्ति लैजाँदा कार्यवाहक प्रमुख सुनिता डङ्गोल, वडा न २३ वडाध्यक्ष मचाराजा महर्जन, सदस्यहरु, सम्पदा अभियन्ताहरु, गुठि खल पुचका प्रतिनिधिहरुले बाजागाजासहित उत्सव गरेका थिए ।
त्यस अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले मूर्तिहरुको सुन्दरता बस्ती र चोकहरुमा हुने बताए । “नेपाल मण्डलभित्रका मूर्तिहरु केवल आकृति मात्र होइनन् । यी हरेक मूर्तिमा प्राण हुन्छ । हरेक मूर्तिसँग सामाजिक जीवनको गहिरो आत्मीय सम्बन्ध हुन्छ । यी मूर्तिको संरक्षणका लागि स्थानीयहरु सचेत हुनुहुन्छ । महानगरपालिकाका तर्फबाट हामीले गर्नुपर्ने काम पूर्ण प्रतिबद्ध भएर गर्नेछौँ”, उनले भने ।
मूर्ति पुनःस्थापनाले वडाको सांस्कृतिक पहिचान अभिवृद्धिका लागि ठूलो योगदान पुगेको अध्यक्ष महर्जनले उल्लेख गरे । राष्ट्रिय सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मीले सम्पदा संरक्षणमा स्थानीय सरकार समुदायका बीच समन्वय उत्कृष्टताको नमूना भएको उल्लेख गरे । सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठ र सञ्जय अधिकारीले विदेशमा बेचिएका प्राचीन कला फिर्ता ल्याउने काममा थप उत्साह बढेको बताए ।
चोरिएका मूर्ति तथा कलात्मक वस्तुलाई मूल स्थानमा पुनःस्थापना गरेको यो तेस्रो सम्पत्ति हो । यसअघि कुमारी घरको तोरण र गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरमा रहेको महागौरी÷पार्वतीको मूर्ति पनि मूल आसनमा फर्काइसकिएको छ ।
यसरी मूर्ति फिर्ता गराउन काठमाडौँ महानगरपालिकाले सरोकारवाला तथा साझेदार कार्यालयका प्रतिनिधिहरुसँग छलफल, कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्ने गरेको छ ।
सयुक्त अधिराज्य बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण २०८२ मंसिर ५ गते पुनःस्थापित गरिएको थियो ।
त्यस्तै २०८३ वैशाख ५ गते विश्व सम्पदा दिवसको अवसर पारेर राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा राखिएको १३औँ शताब्दीको महागौरी÷पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति वडा नं।२० मरुस्थित गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरको आफ्नै आसनमा पुनस्थापित गरिएको थियो । मूर्तिको नाप ६८।५ सेन्टिमिटर उचाइ र ३०।५ सेन्टिमिटर चौडाइको छ ।
चोरी भएको मूर्ति बेलायत पु¥याइएको थियो । त्यहाँबाट २०५२ सालमा फिर्ता गरेर राष्ट्रिय सङ्ग्रहालय छाउनीको जुद्धजातीय कलाशालामा राखिएको थियो । त्यहाँबाट काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत, वडा नं २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा अभियानकर्ताद्वय गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारीले मूर्ति बुझेर फिर्ता ल्याएका थिए ।
सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मी, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, राष्ट्रिय सङ्ग्रहालयका सङ्ग्रहालय अधिकृत सुवासकृष्ण डंगोल र पुरातत्व विभागका पुरातत्व अधिकृत अमृता महर्जनको रोहवरमा सङ्ग्रहालयका भण्डारे विन्दा श्रेष्ठ र सहायक पथ प्रदर्शक उषाकुमारी सिंहले मूर्ति बुझाएका थिए । रासस




प्रतिक्रिया