‘एक घर एक धारा’ले फेरियो दैनिकी


बलेवा (बागलुङ), १९ वैशाख । भौगोलिक हिसाबले बागलुङ जिल्लाको अति विकट मानिने जैमिनी नगरपालिका–३ दमेकको देउरालीखानीका सर्वसाधारणले लामो समयपछि सहजै खानेपानी पाएका छन् ।

गाउँमा ‘एक घर, एक धारा’ योजना सम्पन्न भएपछि स्थानीयलाई सजिलो भएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग, नगरपालिकाको समन्वय र स्थानीय जनसहभागितामा देउरालीखानीमा ‘एक घर, एक धारा’ योजना सम्पन्न भएको छ ।

योजनाअन्तर्गत देउरालीखानीका ३४ घरधुरी लाभान्वित भएका छन् । त्यसबाहेक विद्यालय र खोप क्लिनिक गरी ३६ वटा खानेपानीको धारा निर्माण गरिएको हो । गोर्खा वेलफेयरको ३६ लाख र स्थानीयको नौ लाख बराबरको श्रमदान गरी कूल ४५ लाख बजेटमा ‘एक घर, एक धारा’ योजना सम्पन्न गरिएको देउरालीखानी माझगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष वेदबहादुर छन्त्यालले जानकारी दिए ।

माझगाउँको शिरमा रहेको छेरछेरे मूलको पानी सङ्कलन गरेर गाउँका घर घरमा वितरण गरिएको छ । योजनाअन्तर्गत दुई हजार लिटरका दुई, चार र पाँच हजार लिटर क्षमताका दुई ट्याङ्की निर्माण गरिएको छन्त्यालले बताए । योजना बनेपछि देउरालीखानीमा पर्याप्त खानेपानीको व्यवस्था भएको अध्यक्ष छन्त्यालको भनाइ थियो ।

विसं २०५३ मा कादुरी संस्थाले निर्माण गरिदिएको खानेपानी योजनाअन्तर्गत बनेका सामूहिक धाराबाट माझगाउँवासीले पानी उपभोग गर्दै आएका थिए । “योजना जीर्ण हुनु र सामूहिक धाराले उपभोक्तालाई असहज थियो, घरघरमा धारा बनेपछि पर्याप्त खानेपानी उपभोग गर्न पाएका छौँ”, समितिका सचिव जमुना छन्त्यालले भने ।

खानेपानीको स्रोत भएर पनि सहज रूपमा खानेपानी नपाउँदा समस्या झेल्दै आएका थिए । घरघरमा खानेपानी विस्तार भएसँगै स्थानीयवासी खुसी भएका छन् । आँगनमै खानेपानीको धारा निर्माण भएपछि दैनिक उपभोग गर्न र बस्तुभाउलाई खुवाउन निकै सजिलो भएको छन्त्यालले बताए । उनले भने, “सबैको घरमा चौबिसै घण्टा फिल्टर गरेको स्वच्छ खानेपानी आउन थालेपछि माझगाउँवासीलाई सुविस्ता भएको छ ।”

जनजातिको बाक्लो बस्ती रहेको देउरालीखानी अर्गानिक गाउँका रूपमा पनि परिचित छ । खानेपानी योजनालाई दिगोपना दिन नगरपालिकाले साथ दिने जैमिनीका नगरप्रमुख हरिहर शर्माले बताए । “नागरिकको दुःखमा साथ दिन स्थानीय सरकार सधैँ तत्पर छ”, योजनाको शुभारम्भ शर्माले भने, “सीमित स्रोत र साधनका बाबजुत पनि दुरदराजका जनताका न्यूनतम् आवश्यकता परिपूर्ति गर्न तयार छौँ ।” रासस