एमालेभित्र विद्रोहको झिल्कोः किन खोजिँदैछ ओलीको विकल्प ?


काठमाडौँ । नेकपा एमालेको राजनीतिमा पछिल्लो एक दशकयता अध्यक्ष केपी शर्मा ओलीको निर्णय नै अन्तिम सत्य मानिँदै आएको छ। तर, शनिबार मीनभवनको एउटा भेलाले एमालेको त्यो स्थापित भाष्य र बालकोटको ‘अभेद्य किल्ला’लाई नराम्ररी झस्काइदिएको छ। ‘पुस्तान्तरण र पुनर्जागरण’को नारा दिएर सुरु भएको युवापंक्तिको यो खैलाबैलाले एमालेभित्र एउटा नयाँ र शक्तिशाली विद्रोहको संकेत गरेको छ ।


शनिबार काठमाडौँको मीनभवनमा एमालेका केही चर्चित युवा नेताहरू भेला भए। बाहिरबाट हेर्दा यो सामान्य छलफल जस्तो देखिए पनि यसको भित्री मनसाय भने नेतृत्वलाई सिधै चुनौती दिनु थियो। झपट रावल, नरेश रोकाया र समिक बडाल जस्ता जुझारु अनुहारहरूको सक्रियताले पार्टीको संस्थापन पक्षलाई झस्काएको हो।

भेलाले केवल असन्तुष्टि मात्र पोखेन, १५ बुँदे रूपान्तरणको प्रस्ताव अघि सार्दै पार्टीको ‘विशेष महाधिवेशन’को समेत माग गरेको छ। यसलाई राजनीतिक विश्लेषकहरूले एमालेभित्र ओली युगको विकल्प खोज्ने औपचारिक सुरुवातका रूपमा व्याख्या गरेका छन्।

किन चुलियो असन्तुष्टि ?

एमालेभित्रको यो असन्तुष्टि रातारात उब्जिएको होइन। यसका पछाडि केही कारणहरू देखिन्छन्– पार्टीभित्र विचारको बहस गर्ने ढोका बन्द गरिएको र अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई आफ्नो ‘निजी कम्पनी’ जस्तो चलाएको आरोप भेलामा सहभागीको छ। ‘पार्टीमा फरक मत राख्नेलाई स्पेस छैन, केवल जी–हजुरी गर्नेहरूको मात्र रजगज छ,’ भेलामा सहभागी एक नेताले आक्रोश पोखे ।

गत प्रतिनिधिसभा निर्वाचनमा एमालेले व्यहोरेको क्षति र नयाँ शक्तिहरूको उदयमा नेतृत्वले हारको नैतिक जिम्मेवारी लिनुको साटो उल्टै बचाउमा लागेको भन्दै युवा पुस्ता आक्रोशित छ । त्यस्तै, पत्थरीको शल्यक्रियापछि अध्यक्ष ओलीको घट्दो सक्रियता र हालैका कानुनी जटिलताहरूले पार्टीमा ‘भ्याकुम’ सिर्जना गरेको पनि भेलामा सहभागी युवा नेताहरुले बताएका छन् ।

मीनभवन भेलापछि अब सातै प्रदेशमा अभियान चलाउने र हस्ताक्षर संकलन गर्ने निर्णय गरिएको छ। यसले के संकेत गर्छ भने यो असन्तुष्टि अब काठमाडौँको एउटा कोठामा मात्र सीमित नरही देशैभर फैलिँदैछ छ ।

मीनभवन भेलाले मुख्यतः निम्न एजेन्डामा जोड दिएको छ–

विशेष महाधिवेशनः 

पार्टीको नीति र नेतृत्वबारे पुनर्विचार गर्न तत्काल महाधिवेशन गर्नुपर्ने ।

सामूहिक नेतृत्वः 

एक व्यक्तिको आदेशमा होइन, कमिटी प्रणालीबाट पार्टी सञ्चालन हुनुपर्ने।

युवा पुस्तालाई नेतृत्वः 

उमेर र विचार दुवै दृष्टिले अबको नेतृत्व ५० वर्ष मुनिका युवाहरूको हातमा सुम्पनुपर्ने।

हुन त एमालेमा अझै पनि अध्यक्ष ओलीलाई चुनौती दिन सहज छैन किनकि एमालेको संरचनामा ओलीको पकड अझै पनि मजबुत छ। वडा तहदेखि केन्द्रीय कमिटीसम्म ओलीनिकटका नेताहरूको बाहुल्य छ। विधानअनुसार नेतृत्व परिवर्तनका लागि जुन बहुमत चाहिन्छ, त्यो जुटाउन सहजै सम्भव देखिँदैन। फेरि एमालेको एउटा ठूलो तप्का अझै पनि अध्यक्ष ओलीलाई ‘राष्ट्रवादको मियो’ मान्छ। यो समूहलाई चिरेर अघि बढ्नु युवा नेताहरूका लागि मुख्य चुनौती हो।

तर, अर्कोतिर रास्वपा र श्रम संस्कृति जस्ता नयाँ दलहरूको उदयले गर्दा एमालेका तल्लो तहका कार्यकर्तामा पनि ‘अहिले नसुध्रिए कहिल्यै सुध्रिन्न’ भन्ने मनोविज्ञान हाबी भएको छ। यही मनोविज्ञान विद्रोही युवा नेताहरूको सबैभन्दा ठूलो हतियार बन्न सक्छ । एमाले अहिले दोबाटोमा उभिएको छ। अध्यक्ष ओलीले युवाका यी मागहरूलाई गम्भीरतापूर्वक लिएर आन्तरिक लोकतन्त्रलाई मजबुत बनाए भने एमाले झनै बलियो भएर निस्कनेछ। तर, विगतमा जस्तै ‘कारबाही र पेलेरै जाने’ नीति अख्तियारी गरेमा एमालेमा ठूलो विभाजन आउन सक्ने खतरा देखिन्छ।

समग्रमा भन्ने हो भने मीनभवनबाट उठेको यो ‘पुनर्जागणको आवाजले बालकोटलाई स्पष्ट सन्देश दिएको छ— एमाले अब ‘हुकुम’ले मात्र चल्दैन, यसलाई ‘विवेक’ र ‘युवा जोस’को खाँचो छ । के ओलीले यो सन्देश बुझ्लान् कि विद्रोहको यो झिल्कोलाई दबाएरै अघि बढ्लान् ? त्यो भने हेर्न बाँकी छ ।