कञ्चनपुर, २० वैशाख । शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरÞण कार्यक्रम सञ्चालन गरिएको छ । किसान वर्गीकरण गरी परिचयपत्र तयार पार्ने, राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने र सोही आधारमा आवश्यक सुविधा दिने उद्देश्यसहित कार्यक्रम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।
नगरको कृषि विकास शाखाका अधिकृत विनय जोशीले प्रारम्भिक चरणमा छ जना गणक नियुक्त गरी वडा नं ६ र १० मा सूचीकरणको काम सुरु गरिएको र त्यहाँ सम्पन्न भएपछि वडा नं ७, ८ र ९ मा समेत कार्यक्रम विस्तार गर्ने योजना रहेको जानकारी दिए । त्यसपछि नगरपालिकाका १२ वटै वडामा क्रमशः किसान सूचीकरणको कार्य हुने उनले बताए ।
“खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ को दफा १४ अनुसार किसानको पहिचान गरी सरकारी सेवासुविधा पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो”, शाखा अधिकृत जोशीले भने,“सूचीकरÞण प्रणालीमार्फत किसानका व्यक्तिगत तथा कृषि व्यवसायसम्बन्धी विवरण विद्युतीय प्रणालीमा सङ्कलन गरिनेछ । जसले किसान लक्षित कार्यक्रम गर्न सहज हुनेछ ।”
कृषि विकास शाखा प्रमुख करनसिंह बुढाऐरले सूचीकरÞणले वास्तविक किसानको पहिचान गर्न, कृषि क्षेत्रमा हुने दोहोरोपन हटाउन, कृषकलाई एकीकृत तथ्याङ्कमा ल्याई आगामी दिनमा सेवासुविधा प्रभावकारी रूपमा वितरण गर्न सहयोग पुग्ने बताए ।
“यस प्रणालीमा सूचीकृत भएपछि किसानले मल, बीउ, कृषि औजार, बिमा, अनुदान तथा अन्य सरकारी सुविधा पाउन सहज हुने छ”, उनले भने, “किसान परिचयपत्रलाई आगामी दिनमा सेवा सुविधा वितरणको मुख्य आधार बनाइनेछ, यसले अनुदान तथा अन्य कार्यक्रम लक्षित वर्गसम्म पु¥याउन सहयोग गर्ने विश्वास लिइएको छ ।”
सूचीकरÞणका लागि किसानले नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपत्र वा कर तिरेको कागजात, कृषि तथा पशुपन्छी व्यवसाय दर्ता प्रमाणपत्र (भएमा) र भाडा वा अधियामा लिएको जमिनको सम्झौतापत्र उपलब्ध गराउनु पर्नेछ । नगरपालिकाले कृषकहरूलाई गणकमार्फत घरमै पुगेर विवरण सङ्कलन गर्ने व्यवस्था मिलाएको छ ।
सूचीकरणपछि किसानको विवरण वडा समितिबाट प्रमाणीकरण गरी सार्वजनिक सूचना प्रकाशन गरिनेछ । दाबी–विरोध नभएपछि स्थानीय तहको कार्यपालिकाबाट स्वीकृति दिई केन्द्रमा पठाइनेछ । त्यसपछि किसानलाई वर्गीकरण गरी किसान परिचयपत्र वितरण गरिने प्रक्रिया अघि बढाइनेछ । उक्त परिचयपत्र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणीकरण हुने व्यवस्था छ ।
नगरपालिकाले सबै किसानलाई अनिवार्य रूपमा सूचीकरण प्रक्रियामा सहभागी हुन आग्रह गर्दै कार्यक्रमलाई सफल बनाउन स्थानीय किसानको सहयोग आवश्यक रहेको जनाएको छ । रासस




प्रतिक्रिया