होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय


वियना, २१ वैशाख । तेल उत्पादन गर्ने प्रमुख देशहरूको समूह ‘ओपेक प्लस’ मा आवद्ध सात देशहरूले वैश्विक बजार स्थिरता कायम राख्ने उद्देश्यले आगामी जुन महिनादेखि तेल उत्पादनमा सामान्य वृद्धि गर्ने निर्णय गरेका छन् ।

यस समूहमा साउदी अरेबिया, रुस, अल्जेरिया, इराक, काजाखस्तान, कुवेत र ओमान समावेश छन् । आइतबार आयोजित भर्चुअल बैठकपछि जारी गरिएको संयुक्त निर्णयअनुसार यी देशहरूले दैनिक रूपमा कुल एक लाख ८८ हजार ब्यारेल तेल उत्पादन बढाउने सहमति गरेका छन् ।

तर, यो निर्णयलाई धेरै हदसम्म प्रतीकात्मक रूपमा हेरिएको छ, किनभने हाल मध्यपूर्वमा देखिएको तनाव र विशेषगरी होर्मुज जलडमरूमध्यमा उत्पन्न अवरोधका कारण वास्तविक आपूर्ति प्रणालीमा ठूलो असर परेको छ ।

रिपोर्टअनुसार, इरानले रणनीतिक रूपमा महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्यमा आवागमनमा अवरोध सिर्जना गरेपछि फारसी खाडी क्षेत्रबाट हुने तेल ढुवानी प्रभावित भएको छ । यस जलमार्गबाट विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास आपूर्ति हुँदै आएको मानिन्छ । अवरोधका कारण लाखौँ ब्यारेल तेल अन्तर्राष्ट्रिय बजारमा पुग्न नसकेको बताइएको छ, जसले विश्व ऊर्जा आपूर्तिमा दबाब सिर्जना गरेको छ ।

यसैबीच, संयुक्त अरब इमिरेट्सले ओपेक सङ्गठनबाट अलग हुने निर्णय गरेपछि ६५ वर्ष पुरानो तेल गठबन्धनमा थप परिवर्तन आएको छ । ओपेक समूहले विश्वको करिब ४० प्रतिशत कच्चा तेल उत्पादन गर्दै आएको छ र ऊर्जा मूल्य निर्धारणमा यसको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

इरान ओपेकको १२ सदस्यीय देशहरूमध्ये एक हो, भने रुस औपचारिक सदस्य नभए पनि ‘ओपेक प्लस’ ढाँचामार्फत यस समूहसँग सहकार्य गर्दै आएको छ ।

नयाँ निर्णयअनुसार सहभागी देशहरूले बजार अवस्थाको समीक्षा गर्न मासिक बैठक गर्नेछन् र आगामी जुन ७ मा पुनः बैठक बस्ने कार्यक्रम तय गरिएको छ । उनीहरूले उत्पादन, बजार अनुपालन र आवश्यक समायोजनबारे निरन्तर समीक्षा गर्ने बताएका छन् ।

होर्मुज जलडमरूमध्यमा देखिएको अवरोध र मध्यपूर्वको राजनीतिक तनावबीच विश्व ऊर्जा बजारमा स्थिरता कायम राख्ने प्रयासस्वरूप ओपेकं को यो निर्णय आएको मानिएको छ । रासस