फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली


मनिला, २१ वैशाख । फिलिपिन्सको प्रसिद्ध तर जोखिमपूर्ण मेयन ज्वालामुखीबाट एक्कासि खसेको बाक्लो खरानीले जनजीवन प्रभावित बनाउँदा ३०० भन्दा बढी परिवार विस्थापित भएका छन् । अधिकारीहरूका अनुसार सप्ताहन्तमा ज्वालामुखीको ढलानमा जम्मा भएको लावा एक्कासि खस्दा ठूलो मात्रामा खरानी फैलियो, जसका कारण आसपासका बस्तीहरू तत्काल खाली गराउनुपरेको थियो ।

अधिकारीहरूका अनुसार मेयनबाट कुनै ठूलो विस्फोट नभए पनि यसको दक्षिणपश्चिमी ढलानमा जम्मा भएको लावाको विशाल भण्डार अचानक खस्दा पाइरोक्लास्टिक प्रवाह उत्पन्न भएको थियो । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका निर्देशक टेरेसिटो बाकोलकोलका अनुसार तातो चट्टान, खरानी र ग्यास मिसिएको यो प्रवाह शनिबार रातअघि तीव्र गतिमा तल झरेको थियो, जसले आसपासका क्षेत्रमा भय र त्रास फैलाएको थियो ।

यस घटनाबाट कुनै मानवीय क्षति नभएको जानकारी दिइएको छ । तर तीन सहरअन्तर्गत पर्ने ८७ वटा गाउँमा खरानीको बाक्लो बादल फैलिँदा जनजीवन प्रभावित भएको थियो । दृश्यता अत्यन्त न्यून हुँदा सवारी आवागमनमा समेत समस्या आएको अधिकारीहरूले बताएका छन् ।

ज्वालामुखीको फेदमा रहेको क्यामालिग सहरका मेयर कालोय बाल्डोका अनुसार खरानीको घनत्व यति धेरै थियो कि मुख्य राजमार्गमा समेत शून्यजस्तै दृश्यता भएको थियो । उनले केही स्थानीय बासिन्दा डराएको भए पनि प्रशासनले उनीहरूलाई संयमित रहन आग्रह गरेको जानकारी दिए ।

खरानीका कारण कृषिमा पनि असर परेको छ । विशेषगरी तरकारी खेतीमा क्षति पुगेको छ भने क्यामालिग क्षेत्रमा चार वटा पानी भैँसी र एउटा गाईको मृत्यु भएको बाल्डोले बताए । अल्बे प्रान्तअन्तर्गत करिब आठ हजार जनसङ्ख्या रहेको उक्त क्षेत्रमा अहिले सफाइ र पुनःस्थापनाको काम जारी रहेको छ ।

निर्देशक बाकोलकोलका अनुसार हाल अवस्था केही शान्त देखिए पनि जोखिम पूर्ण रूपमा टरेको छैन । उहाँले मेयन ज्वालामुखी सधैँ सतर्कताका साथ निगरानीमा राखिएको उल्लेख गरे ।

समुद्र सतहदेखि दुई हजार ४६२ मिटर (आठ हजार ७७ फिट) उचाइमा रहेको मेयन ज्वालामुखी यसको सममित शङ्कु आकारका कारण फिलिपिन्सको प्रमुख पर्यटकीय आकर्षण मानिन्छ । तर यही ज्वालामुखी देशका २४ सक्रिय ज्वालामुखीमध्ये सबैभन्दा सक्रिय पनि हो ।

यसअघि जनवरीमा साना विस्फोटहरूको शृङ्खलापछि अधिकारीहरूले पाँच–चरणीय चेतावनी प्रणालीअन्तर्गत जोखिम स्तर ३ मा बढाएका थिए । ती विस्फोटहरूले शिखर क्रेटरबाट गाडी बराबर आकारका चट्टानहरू बाहिर फ्याँकेको र घातक पाइरोक्लास्टिक प्रवाह उत्पन्न गरेको जनाइएको छ ।

चेतावनी प्रणालीअनुसार स्तर ५ पुगेको अवस्थामा ज्वालामुखीबाट अत्यन्त खतरनाक विस्फोट, लावा प्रवाह, भारी खरानी वर्षा र पाइरोक्लास्टिक प्रवाह हुने भएकाले मानव जीवनमा गम्भीर जोखिम हुने गर्दछ । रासस