देशमा विकृति र विसंगति भयावह,युवाशक्ति सही दिशामा अघि बढ्नुपर्छ:भण्डारी


काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले युवाशक्ति सही दिशामा अघि बढ्नुपर्ने बताएका छन्। आज सामाजिक सञ्जालमा लेख्दै उनले देशमा विकृति र विसंगति भयावह अवस्थामा रहेको उल्लेख गरे ।

भण्डारीले समस्या ऊर्जामा नभई दिशामा र चेतनामा रहेको बताए । कहिलेकाहीँ सत्यका लागि असत्यको सहारा लिनुपर्ने परिस्थिति आउन सक्ने उल्लेख गर्दै उनले त्यसको उद्देश्य मानवताको हितमा हुनुपर्ने धारणा राखेका छन्।

उनले राज्यको पहुँच बाहिर रहेका नागरिक, विशेषगरी बालबालिकालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने समेत बताए।

यस्ताे छ उनले सामाजिक सञ्जालमा राखेकाे भनाइ :

नेतृत्वको जवानी, जनताको चाहना र समयको मागअनुसार युवाहरू रकेटको गतिमा अघि बढ्न चाहन्छन्। तर विकृति र विसंगति भयावह छ—यसको सफाइमा हाहाकार मच्चिन सक्छ।

तसर्थ समस्या ऊर्जामा होइन, दिशामा हो । फरक चेतनामा हो । जडलाई समाप्त नगरी साँचो परिवर्तन सम्भव हुँदैन।

“सत्यका लागि कहिलेकाही असत्यको सहारा लिनुपर्छ” भन्ने विचार सँगसँगै एउटा प्रश्न उठ्छ—कस्का लागि ?

उत्तर स्पष्ट छ: मानवताको लागि ।

राज्यको आँखा नपुगेका नागरिक—भविष्य बोकेका बालबालिका—राज्यको पहिलो प्राथमिकतामा पर्नैपर्छ। तब मात्र मुलुक बलियो र सुरक्षित हुन्छ।