दीपक भट्टलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश


काठमाडौं, वैशाख २१ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायी दीपक भट्टलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

भट्टकी पत्नी आयुस्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले बाटोको म्यादबाहेक २४ घण्टाभित्र उदालतमा उपस्थित गराउन आदेश गरेको हो।

व्यवसायी भट्टकी श्रीमतीले काठमाडौं जिल्ला अदालत, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र महानगरीय प्रहरी प्रभाग सानेपालाई विपक्षी बनाएर यही वैशाख १८ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन्।

आदेशमा अनुसन्धान भइरहेको मिसिल फाइलको एकरएकप्रति पेसीकै दिन ल्याएर फिर्ता लैजाने गरी महान्यायाधिवक्ता कार्यालयमार्फत झिकाउन भनिएको छ।