वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी


वीरगञ्ज । देशकै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगन्ज भन्सारको सेवा प्रवाह एक सातादेखि प्रभावित भएको छ ।
भन्सार विन्दुमा आउने वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न खोज्दा एक सातादेखि अत्यावश्यक पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूलबाहेक अन्य वस्तु तथा सामानको भन्सार जाँचपास हुनसकेको छैन ।
गत वैशाख १५ गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन्, जसका कारण भारतको रक्सौलतर्फ मालवाहक सवारीसाधन रोकिने क्रम बढ्दो छ ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले दैनिक दुई सयभन्दा धेरै मालवाहक सवारीसाधन थपिने भएकाले पनि औसतमा एक हजार चार सय हाराहारीका सवारीसाधन जाँच प्रक्रिया रोकिएको बताए ।
गत वैशाख १५ गतेदेखि आयातित एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गर्ने निर्णय भएको थियो । तर, सो प्रावधानको आर्यातकर्ता तथा निर्यातकताले विरोध जनाउँदै आइरहेका छन् । वीरगन्जको एकीकृत सुरक्षा भन्सार जाँचचौकीको व्यवस्थापनको जिम्मेवारी पाएको टीआरएस हिमालयन लर्जी पार्क प्रालिका इन्चार्ज गणेश घिमिरेले भन्सार जाँचपास नहुँदा भारतीय सडकमा समेत मालवाहक सवारीसाधनको लाइन लागेको बताए ।
वीरगन्ज भन्सार कार्यालयले दैनिक ५० देखि ६० करोड रुपैयाँसम्म राजस्व सङ्कलन गर्दै आएको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले यो समस्या लामो समयसम्म रहँदा राज्य र व्यवसायी दुवैलाई फाइदा नहुने भएकाले आवश्यक समन्वय गरेर टुङ्ग्याउन अनुरोध गरे ।