काठमाडौं, वैशाख २२ । राजधानीको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल पशुपतिनाथ मन्दिर परिसरमा विदेशी पर्यटकमाथि दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएपछि देशको अन्तर्राष्ट्रिय छविमा गम्भीर असर परेको छ। थाइल्याण्डकी एक महिला पर्यटकले सामाजिक सञ्जाल Instagram मा पोस्ट गरेको भिडियो अहिले झन्डै ७५ लाखभन्दा बढीले हेरेका छन्।
भिडियोमा एक व्यक्ति पैसा माग्ने बहानामा पर्यटकको हात समात्दै जबरजस्ती गरेको देखिन्छ। पर्यटक असहज र त्रसित देखिए पनि ती व्यक्ति निरन्तर नजिकिँदै दबाब सिर्जना गरिरहेका छन्। यस्तो व्यवहारले नेपालमा आउने विदेशी पर्यटकको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
घटना भएको स्थानमा पर्यटक प्रहरीको उपस्थिति रहने क्षेत्र भए पनि तत्काल प्रभावकारी हस्तक्षेप भएको देखिँदैन। यसले सुरक्षा संयन्त्रको कमजोरी उजागर गरेको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ। अझैसम्म नेपाल प्रहरी ले घटनाबारे कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। अन्तर्राष्ट्रिय रूपमा भाइरल भइसकेको घटनामा सम्बन्धित निकायको मौनता झन् चिन्ताजनक बनेको छ।




प्रतिक्रिया