बीपी राजमार्गमा राती सवारी चलाउन रोक, बाटोको अवस्था बुझेर मात्र यात्रामा निस्कन आग्रह


काठमाडौं, वैशाख २३ । बेमौसमी वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी क्षेत्रमा पटक-पटक सडक अवरुद्ध हुन थालेपछि जिल्ला सुरक्षा समितिले रात्रिकालीन आवागमनमा पूर्ण रोक लगाएको छ।

बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै मङ्गलबारदेखि लागू हुने गरी अर्को सूचना नभएसम्मका लागि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गर्ने निर्णय गरिएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, रोशी खोलामा आउने बाढीले सडकका अस्थायी ‘डाइभर्सन’हरू बगाउने खतरा बढेकाले यात्रुको सुरक्षाका लागि यो कदम चालिएको हो।

सोमबार मात्रै रोशी गाउँपालिकाको लास्कोट र घुमाउने बीचको क्षेत्रमा फसेका ८९ जना यात्रुलाई सुरक्षा निकायको टोलीले रातको १ बजे सफल उद्धार गरेको थियो। वर्षाका कारण सडक अवरुद्ध हुँदा सवारी साधनहरूलाई धुलिखेल, मङ्गलटार र सिन्धुलीको नेपालथोकमा रोकेर राखिएको छ।

गत वर्षको विनाशकारी बाढीले चौकीडाँडादेखि नेपालथोकसम्मको करिब १८ किलोमिटर सडक बगाएपछि हाल खोलाको किनारैकिनार अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएको थियो।

डिभिजन सडक कार्यालय भक्तपुरले सो क्षेत्रमा स्थायी सडक निर्माण कार्य जारी राखेको जनाएको छ। सुरक्षा निकायले सर्वसाधारणलाई राजमार्गको अवस्थाबारे पूर्वजानकारी लिएर मात्र दिउँसोको समयमा यात्रा गर्न र जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न अपिल गरेको छ।