सुशासनको आवरणमा लोकतन्त्र कमजोर पार्ने प्रयास अस्वीकार्य : निर्मला क्षेत्री





बुटवल । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएकी छन् । उनले लोकतान्त्रिक मूल्य, संसदको गरिमा र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको आरोप सरकारमाथि लगाइन् ।



बुटवलमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्तिलाई “संसदीय प्रणालीमाथिको गम्भीर प्रहार”को संज्ञा दिँदै लोकतन्त्रलाई कमजोर पार्ने कुनै पनि कदम नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बताइन् ।


क्षेत्रीले संसद अधिवेशन अन्त्य गरेर धमाधम अध्यादेश ल्याइनु लोकतान्त्रिक अभ्यासविपरीत रहेको तर्क उनले राखिन् ।


जनप्रतिनिधिको भूमिकालाई निष्क्रिय बनाउँदै “चोर बाटो”बाट कानुन लाद्ने प्रयास जनमतको अपमान भएको उनको भनाइ थियो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत शक्ति केन्द्रित गर्ने प्रयासले शक्ति पृथकीकरणको सिद्धान्तमाथि नै प्रश्न उठाएको उल्लेख गर्दै उनले संविधानको मर्म, संस्थागत सन्तुलन र लोकतान्त्रिक प्रणालीको रक्षा गर्न कांग्रेस दृढतापूर्वक उभिने बताइन् ।

“संविधानको आत्मा भनेकै शक्ति सन्तुलन हो। जब सरकारले संवैधानिक निकायहरूलाई नियन्त्रणमा राख्ने उद्देश्यले अध्यादेशको दुरुपयोग गर्छ, त्यसले अधिनायकवादलाई प्रश्रय दिन्छ,” क्षेत्रीले भनिन्, “नेपाली कांग्रेस लोकतन्त्र र संविधानमाथि हुने कुनै पनि प्रहारविरुद्ध चट्टानझैँ उभिन्छ।”



नेपाली कांग्रेसको ‘जरा अभियान’की केन्द्रीय प्रतिनिधिसमेत रहेकी क्षेत्रीले कांग्रेस अब लोकतन्त्र कमजोर पार्ने गतिविधि टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत दिइन् ।