बिचुटेनको घोषणा:पहिलो टियर–४ हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने,अब नेपालमै सुरक्षीत डाटा !


काठमाडौं । नेपालमा पहिलो पटक टियर–४ हाइपरस्केल डाटा सेन्टर निर्माण हुने भएको छ। स्वदेशी कम्पनी बिचुटेन डाटा भल्ट प्रालिले नेपालको डिजिटल पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यसहित अत्याधुनिक डाटा सेन्टर निर्माण गर्ने घोषणा गरेको हो।


कम्पनीका अनुसार यो परियोजनाले नेपाललाई दक्षिण एसियाकै विश्वसनीय डिजिटल हबको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। हाल विश्वभर कृत्रिम बौद्धिकता (AI), क्लाउड कम्प्युटिङ, डिजिटल बैंकिङ तथा सरकारी डिजिटल सेवाको विस्तारसँगै सुरक्षित डाटा भण्डारणको आवश्यकता तीव्र रूपमा बढिरहेको अवस्थामा बिचुटेनको यो परियोजनालाई नेपालका लागि महत्वपूर्ण डिजिटल पूर्वाधारको रूपमा हेरिएको छ ।



नेपाली उद्यमीहरु नवीन अग्रवाल, मनी अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विकाश कुमार जाटिया र शरद गोयलको नेतृत्वमा नेपालको आफ्नै डिजिटल सार्वभौमिकता र सुरक्षित भविष्य निर्माणको लागि डाटा सेन्टर सञ्चालन गर्न लागेको जनाइएको छ।


कम्पनीले दिएको जानकारी अनुसार निर्माण हुने डाटा सेन्टर नेपालको पहिलो टियर–४ प्रमाणित डाटा सेन्टर हुनेछ। टियर–४ स्तरलाई विश्वकै सबैभन्दा सुरक्षित र भरपर्दो डाटा सेन्टर मापदण्डमध्ये एक मानिन्छ। यसले ९९.९९५ प्रतिशत ‘अपटाइम’ सुनिश्चित गर्ने कम्पनीको दाबी छ। अर्थात् वर्षभरिमा अत्यन्त न्यून समय मात्रै प्राविधिक अवरोध हुन सक्नेछ।


कम्पनीका अनुसार परियोजना काठमाडौ (साइट–१) र वीरगञ्ज (साइट–२) गरी दुई रणनीतिक स्थानमा विस्तार गरिनेछ। प्रारम्भिक चरणमा २४० किलोवाट क्षमताबाट सुरु गरिने परियोजनालाई आगामी पाँच वर्षभित्र ५ मेगावाटसम्म विस्तार गर्ने योजना रहेको जनाइएको छ।



कम्पनीले यो परियोजनाले नेपालमा सूचना प्रविधि तथा इन्जिनियरिङ क्षेत्रमा ठूलो रोजगारी सिर्जना गर्ने दाबी गरेको छ। साथै भविष्यमा नेपालमै सर्भर, ल्यापटप, ट्याबलेट लगायतका प्रविधि उपकरण उत्पादन गर्ने लक्ष्यसमेत राखिएको छ।


डाटा सार्वभौमिकता (Data Sovereignty) र साइबर सुरक्षालाई परियोजनाको मुख्य आधार बनाइएको कम्पनीले जनाएको छ। “डाटा नै कृत्रिम बौद्धिकता र डिजिटल रूपान्तरणको आधार हो” भन्ने मान्यतासहित नेपाली नागरिक तथा संस्थाको डाटा नेपालभित्रै सुरक्षित राख्ने ‘इन–कन्ट्री डाटा रेसिडेन्सी’ सुनिश्चित गरिने कम्पनीको भनाइ छ। यसबाट विदेशी सर्भरमा निर्भरता घट्नुका साथै राष्ट्रिय साइबर सुरक्षा पनि मजबुत हुने अपेक्षा गरिएको छ।




कम्पनीले निर्माण गर्न लागेको पूर्वाधार ऊर्जा–दक्ष तथा वातावरणमैत्री हुने दाबी पनि गरेको छ। नेपालको जलविद्युत् ऊर्जामा आधारित प्रणाली प्रयोग गरी दिगो र हरित प्रविधिको प्रवर्द्धन गर्ने योजना कम्पनीको छ ।