को हुन सीआईबीले आज पक्राउ गरेका स्मार्ट टेलिकमको सम्पत्ति लिलामीमा संलग्न दुई जना?


काठमाडौं, वैशख २५ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल सरकारको सम्पत्ति गैरकानूनी रुपमा लिलामी गराउने कार्यमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई पक्राउ गरेको छ ।

सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार ५५ वर्षीया पलिना श्रेष्ठलाई आज काठमाडौंको जमलबाट पक्राउ गरिएको हो । पलिना काठमाडौं महानगरपालिका वडा नं. २२ पाको न्यूरोड स्थायी ठेगाना भइ हाल ललितपुर महानगरपालिका वडा नं. ३ झम्सीखेलमा बस्दै आएकी थिइन् ।

त्यस्तै, ६२ का नरेन्द्र उलकलाई पनि आज ललितपुरको बखुन्डोलबाट पक्राउ गरिएको सिआइबी जनाएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं। १२ स्थायी ठेगाना भएका नरेन्द्र हाल काठमाडौंको टोखा नगरपालिका वडा नं. ७ धापासीमा बस्दै आएका थिए ।

पलिना र नरेन्द्रले नेपाल दुरसञ्चार प्राधिकरणबाट ०७० वैशाख २ गते दुरसञ्चार सेवा सञ्चालन गर्नको लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिएका थिए । स्मार्ट टेलिकम प्रा.लि.ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारण ०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो ।

उनीहरूले नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उदेश्यका साथ गैरकानूनी रुपमा लिलामी गर्ने प्रक्रियामा संलग्न रही ठगी तथा आपराधिक विश्वासघात कसूरमा पक्राउ गरिएको एसएसपी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।

यसअघि, सीआईबीले सोही प्रकरणमा केही व्यक्तिलाई पक्राउ गरेको छ । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।