ज्येष्ठ नागरिकहरू ज्ञान र अनुभवको महत्त्वपूर्ण स्रोत :ईश्वर पोखरेल


काठमाडौँ । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकहरूलाई केवल सामाजिक सुरक्षा र सम्मानको घेरामा मात्र सीमित नराखी उनीहरूलाई ज्ञान र अनुभवको महत्त्वपूर्ण स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् ।

मनमोहन स्मृति प्रतिष्ठानबाट सनिबार आयोजित कार्यक्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले ज्येष्ठ नागरिकको अनुभवलाई राज्य सञ्चालन, समाज रूपान्तरण र पारिवारिक समृद्धिमा सदुपयोग गर्नुपर्ने धारणा राखे । नेपालमा सामाजिक सुरक्षा कार्यक्रमको सुरुवात गर्ने प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको योगदानको स्मरण गर्दै नेता पोखरेलले उनको विचार र निष्ठालाई चिरस्थायी बनाउन प्रतिष्ठानले विभिन्न रचनात्मक कार्यहरू गर्दै आएको बताए ।

२०५६ सालमा स्थापित प्रतिष्ठानले ज्येष्ठ नागरिकका लागि देश दर्शन, सम्मान कार्यक्रम, स्वास्थ्य शिविर तथा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ । साथै, युवाहरूलाई प्राविधिक शिक्षा प्रदान गर्न मोरङमा मनमोहन प्राविधिक विश्वविद्यालयको स्थापना गरी स्वरोजगारीका क्षेत्रमा समेत काम भइरहेको पोखरेलले बताए ।