हवाना, २६ वैशाख । क्युबाले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले व्यक्त गरेको मानवीय सहायता प्रस्तावसम्बन्धी दाबीलाई अस्वीकार गरेको छ । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले अमेरिकाले क्युबालाई १० करोड अमेरिकी डलर बराबरको सहायता प्रस्ताव गरेको भन्ने अभिव्यक्ति तथ्यसँग मेल नखाने बताएका छन्।
हवानाबाट सार्वजनिक गरिएको प्रतिक्रियामा विदेशमन्त्री रोड्रिगेजले सामाजिक सञ्जालमार्फत अमेरिकी भनाइप्रति असहमति जनाउँदै अमेरिकाले आफ्नो नीतिलाई उचित देखाउन यस्ता अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् । उनले अमेरिकाले क्युबामाथि वर्षौंदेखि लागू गर्दै आएको आर्थिक प्रतिबन्धका कारण देशले गम्भीर आर्थिक तथा मानवीय चुनौती सामना गरिरहेको उल्लेख गरेका छन् ।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाले क्याथोलिक चर्चसँग सम्बन्धित सहायता संस्थामार्फत क्युबालाई ६० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराएको बताएका थिए । साथै, अमेरिकाले थप १० करोड डलर सहायता प्रस्ताव गरे पनि क्युबाली सरकारले त्यसलाई वितरण गर्न अस्वीकार गरेको दाबी उनले गरेका थिए ।
रुबियोको अभिव्यक्तिपछि विदेशमन्त्री रोड्रिगेजले उक्त दाबीबारे प्रश्न उठाउँदै त्यस्तो सहायता वास्तवमै कहाँ र कसरी प्रयोग हुने थियो भन्ने स्पष्ट हुनुपर्ने बताएका छन् । उनले अमेरिकाले सहयोगको विषयलाई राजनीतिक दृष्टिकोणसँग जोडेको संकेत गरेका छन् ।
क्युबाली पक्षले अमेरिकाको आर्थिक प्रतिबन्धका कारण देशले अर्बौं डलर बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको जनाएको छ । विदेशमन्त्री रोड्रिगेजका अनुसार अमेरिकी नीतिका कारण क्युबाले खाद्यान्न, इन्धन, औषधि, प्रविधि तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्तिमा कठिनाइ भोगिरहेको छ । उनले यसले सर्वसाधारण नागरिकको दैनिक जीवनमा प्रत्यक्ष असर परेको बताएका छन् ।
क्युबा र अमेरिकाबीच लामो समयदेखि राजनीतिक तथा आर्थिक मतभेद रहँदै आएका छन् । व्यापार प्रतिबन्ध, वित्तीय नियन्त्रण तथा कूटनीतिक असहमतिका कारण दुई देशबीचको सम्बन्ध समय–समयमा तनावपूर्ण बन्ने गरेको छ ।
पछिल्ला वर्षहरूमा क्युबाले आर्थिक संकट, ऊर्जा अभाव तथा बढ्दो मुद्रास्फीतिका चुनौती सामना गरिरहेको छ । यस्तो अवस्थामा सहायता प्रस्तावसम्बन्धी दाबी र त्यसको खण्डनले दुई देशबीचको अविश्वास तथा कूटनीतिक तनावलाई पुनः चर्चामा ल्याएको विश्लेषण गरिएको छ । रासस




प्रतिक्रिया